पहिरोमा परी बागलुङमा चार जनाको मृत्यु

एक महिलाको शव फेला

१३ साउन, बागलुङ । बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ ।

सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ ।

घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । सँगै सुतिरहेकी मृतककी आमा होमकुमारी विक गम्भीर घाइते भएकी छन् ।

उनलाई उपचराका लागि अस्पताल पठाउने तयारी भइहेको छ । पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा छन् । घर क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

त्यस्तै निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरेको छ । पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको प्रनाउ रेग्मीले बताए ।

निसीखोला गाउँपालिकामानै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेलापरेको छ । उहाँको पहिचान नखुलेको जनाइएको छ ।

१३ साउन २०७७, मंगलवार ०९:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु