लिम्पियाधुरासहितको नेपालको नक्सा मन्त्रिपरिषदबाट पारित

काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा मन्त्रिपरिषद बैठकबाट पारित भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
भारतले नोभेम्बरमा आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा लिम्पियाधुरालाई आफ्नो क्षेत्रमा देखाएको थियो । त्यसको नेपालमा चर्को विरोध भयो । संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई तान्तार निर्देशन दिइरहेका थिए ।
तर सरकारले कूटनीतिक नोट पठायो र सीमा विवादबारे परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न दुई पटक मिति प्रस्ताव गर्यो । नेपालले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्ने बताएपनि भारतले सचिवस्तरीय संयन्त्रको बैठक टार्दै आएको छ ।
अहिले फेरि भारतले तिब्बतको मानसरोवर जान लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै बनाएको सडक उद्घाटन गर्यो । त्यसपछि फेरि दुई देशको सीमा विवाद सतहमा आएको छ ।
सरकारले तत्काल वार्ता गर्न चाहेपनि भारतले कोरोना संकटपछि भनेको छ । त्यसैले सरकारलाई छुटेको नेपाली भूभागलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्न चौतर्फी दबाव परेको थियो ।
जेठ २ गते संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने प्रतिवद्धता जनाइएको थियो । त्यसअनुसार भूमिसुधार मन्त्रालयले लगेको प्रस्तावमा निर्णय भएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।
५ जेठ २०७७, सोमवार १३:४७ बजे प्रकाशित