चीनले ढाँट्यो कोरोनाबाट अमेरिकामा भन्दा चीनमा धेरैको मृत्यु – ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा भन्दा चीनमा बढी मृत्यु भएको दाबी गरेका छन् ।

चिनियाँ अधिकारीहरुले हुेबई प्रान्तको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संशोधित संख्या सार्वजनिक गरेपछि ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो ।

शुक्रबार ट्वीट गर्दै ट्रम्पले भनेका छन्, ‘यस अज्ञात शत्रुबाट हुने मृत्युको तथ्यांक चीनले अचानक बढाएर दोब्बर गरायो । तर मृत्युको संख्या अमेरिकाको भन्दा पनि धेरै छ ।’

चिनियाँ अधिकारीहरुका अनुसार यसअघि फेला नपरेका र गणनामा छुटेकाहरु १२ सय ९० जना भेटिएका हुन् । महामारीको समयमा अस्पतालमा पर्याप्त भर्नाको अभावको कारण उनीहरू गणनामा छुटेको बताइएको छ ।

अमेरिकाले सुरुदेखि नै चीनले कोरोनाबाट मानवीय क्षतिको वास्तविकता लुकाएको र डब्ल्यूएचओले पनि चीनको पक्षपोषण गरेको आरोप लगाउँदै आएको छ । यही आरोपका बीच अमेरिकाले डब्ल्यूएचलाई दिँदै आएको आर्थिक सहयोग रोक्का गरेको छ ।

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा ३१ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ भने झण्डै ७ लाख जनामा संक्रमण पुष्टि भएको छ ।

६ वैशाख २०७७, शनिवार ०१:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु