शान्तिपूर्ण राजनीतिमा आउन विप्लवलाई कांग्रेसको अपिल
काठमाडौं, चैत २ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेत्रबिक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीलाई शान्तिपूर्ण राजनीतिमा आउन अपिल गरेको छ । प्रवक्ता विश्व प्रकाश शर्माले शनिवार विज्ञप्ती निकालेर चन्द समुहलाई शान्तिपूर्ण राजनीतिमा आउन सार्वजनिक रुपमा अपिल गरेका हुन ।
‘नेपाली कांग्रेस सबैखालै विमतिको हल राजनैतिक संवादको माध्यमबाट खोज्न सकिन्छ र शान्ति, सहमति एवं सहकार्यको मार्गबाट मात्रै मुलुकको समग्र प्रगति हुने मान्यता र दर्शनमा विश्वास राख्दछ’, उनले विज्ञप्तीमा उल्लेख गरेका छन, ‘ नेत्रबिक्रम चन्दले नेतृत्व गर्नु भएको नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतङ्कको बाटो परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन नेपाली कांग्रेस सार्वजनिक अपिल गर्दछ ।’
नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व भएको, तर त्यस नाममा संविधान विपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न सकिन्न अतः वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न समेत कांग्रेसले सरकारलाई भनेको छ ।
‘दशक लामो हिंसात्मक विद्रोहको शान्तिपूर्ण निकास खोज्न मुलुकले ऐतिहासिक सफलता हासिल गरेको र त्यस मुल नेतृत्व नेपाली कांग्रेसले गरेको हाम्रो ताजा विगत स्मृति गर्दै, आजको मितिमा हिंसात्मक व्रिदोहमा गएको नेपाल कम्युनिष्ट पार्टीलाई संविधानभित्रैबाट विश्वासमा लिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र यसको नेतृत्वलाई आवेगमुक्त भएर पहल गर्न नेपाली कांग्रेस अपिल गर्दछ ।’, विज्ञप्तीम उल्लेख छ ।
२ चैत २०७५, शनिवार ११:४६ बजे प्रकाशित













