राष्ट्रसंघीय महासचिव मुनलाई बुद्धजयन्तीमा निम्तो
काठमाडों, १३ चैत । नेपाल सरकारले २५६० औँ अन्तराष्ट्रिय बुद्धजयन्ती समारोहमा सहभागी हुन संयुक्त राष्ट्रसंका महासचिव बान की मुन र चिनियाँ राष्ट्रपति सी जिन पिङलाई निम्ता गरेको छ ।
२५६० औँ बुद्धजयन्ती समारोह तथा अन्तराष्ट्रिय बौद्ध सम्मेलन सम्बन्धमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार आयोजना गरेको गोष्ठीमा मन्त्री आनन्द पोखरेलले राष्ट्रसङ्घका महासचिव र चिनियाँ राष्ट्रपतिलाई लुम्बिनी भ्रमणको निम्तो दिएर आएको बताए ।
२०७३ जेठ ६, ७ र ८ गते हुने तीन दिवसीय २५६० औँ अन्तराष्ट्रिय बुद्धजयन्ती समारोहमा राष्ट्र सङ्घका महासचिव मुन र चिनियाँ राष्ट्रपति पिङ आउने धेरै सम्भावना रहेको जनाइएको छ । बुद्धजयन्ती समारोहका अवसरमा धेरै देशका राष्ट्रप्रमुख र राजदूतलाई समेत आमन्त्रण गरिएको छ । मन्त्री पोखरेलले राष्ट्रसंघ महासचिव र चिनियाँ राष्ट्रपतिले लुम्बिनी आउने इच्छा व्यक्त गरेका जनाए । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिंघे, विहारका मुख्यमन्त्री नितीश कुमार र युनेस्कोका निर्देशक जनरल इरीनिया बेकाभालाई पनि निमन्त्रणा गरिएको छ ।
बुद्धजयन्तीका अवसरमा श्रीलंका, म्यानमार, थाइल्यान्ड, भारत, चीन, भियतनाम, कम्बोडिया, जापान, भुटान, दक्षिण कोरिया, लाओस, मंगोलिया र इजरायलका संस्कृति तथा धार्मिक मामिला मन्त्रीहरु पनि सहभागी हुनेछन ।
१३ चैत २०७२, शनिवार ०६:३६ बजे प्रकाशित