संसद सचिवालयको सर्भरमा दिउँसो युट्युब र सामाजिक सञ्जाल नचल्ने
१३ साउन, काठमाडौं । संघीय संसद सचिवालयको सर्भरमा दिउँसोको समयमा युट्युब र सामाजिक सञ्जाल नचल्ने बनाइएको छ । यसो गर्दा इमेल, गुगल, विकिपिडिया लगायत फास्ट चल्ने बताइएको छ ।
खासगरी युट्युब र फेसबुकमा बढी प्रयोगकर्ता रहेको र त्यसले ब्याण्डविथ धान्न नसक्ने अवस्थामा पुगेपछि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म परीक्षणका रुपमा हाललाई बन्द गरिएको सचिवालयले जनाएको छ ।
‘कार्यालय समय सुरु भएको एक घण्टा पछिदेखि दिउँसो ३ बजेम्म युट्युब र फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जाल बन्द गरेका छौं’ सचिवालयको सूचना प्रविधि शाखाका कम्युटर अधिकृत जगदिश न्यौपालेले भने ।
युट्युब र सामाजिक सञ्जाल नै चाहिएको वा यसैबाट सूचना आदनप्रदान गर्न परेको अवस्थामा जानकारी आउँदा खोलिदिने पनि उनले बताए ।
उनका अनुसार मंगलबारदेखि संसद सचिवालयको सर्भरमा दिउँसोको समयमा युट्युब र सामाजिक सञ्जाल नचल्ने बनाइएको हो ।
संसद सचिवालयको सर्भरमा दैनिक ५०० को हाराहारीमा प्रयोगकर्ताहरु रहने गरेको पनि न्यौपानेले जानकारी दिए ।
‘कुनै औपचारिक निर्णय भएको होइन् । तर, दिउँसोको समयमा फेसबुक र युट्युब बन्द गराउँदा अहिलेको ब्याण्डविथले भ्याउँछ कि भनेर परीक्षण सुरु गरेका हौं’ न्यौपानेले भने, ‘ निश्चित समयको परीक्षण र प्रतिक्रिया हेरेर थप निर्णय हुन्छ ।’
तर, एनआइटिसीको सर्भरमा भने युट्युब र सामाजिक सञ्जाल बन्द गरिएको छैन् ।
न्यौपानेका अनुसार संघीय संसद सचिवालयको एक नम्बर भवन र काठघरमा संसद सचिवालयकै सर्भर छ भने दुई नम्बर भवनमा एनआइटिसीको सर्भर छ ।
संवैधानिक आयोगका वार्षिक प्रतिवेदन अध्ययन गर्न संसदीय उपसमिति गठन
१३ साउन, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले तीन वटा संवैधनिक आयोगका वार्षिक प्रतिवेदन अध्ययन गर्न छुट्टाछुट्टै उपसमिति गठन गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्न नेकपा सांसद रेखा शर्माको संयोजकत्वमा उपसमिति गठन भएको छ ।
शर्मा नेतृत्वको ५ सदस्यीय उपसमितिमा नेकपाकै सांसद झपट रावल, कांग्रेस सांसद देवेन्द्रराज कंडेल, कांग्रेस सांसद अमरेश कुमार सिंह, नेकपा सांसद नवराज सिलवाल सदस्य छन् ।
निर्वाचन आयोग वार्षिक प्रतिवेदन अध्ययन गर्न नेकपा सांसद यशोदा सुवेदी गुरुङको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन भएको छ । जसमा कांग्रेस सांसद देवेन्द्रराज कंडेल, स्वतन्त्र सांसद छक्क बहादुर लामा, नेकपा सांसद तिर्था गौत्तम र नेमकिपाका सांसद प्रेम सुवाल सदस्य छन् ।
यसैगरी, लोकसेवा आयोग वार्षिक प्रतिवेदन अध्ययन गर्न गठित उपसमितिको नेतृत्व नेकपा सांसद विजय सुब्बाले पाएका छन् ।
उनी संयोजकत्वको उपसमितिमा कांग्रेस सांसद डिला संगा्रैला, जनता समाजवादी पार्टीका सांसद रामसहाय प्रसाद यादव र नेकपा सांसद लक्ष्मी चौधरी सदस्य छन् ।
तीन वटै उपसमितिलाई १५ दिनको समय दिइएको छ ।
सम्बन्धित आयोगका वार्षिक प्रतिवेदन अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।
१४ साउन २०७७, बुधवार १८:३८ बजे प्रकाशित





