सुकाउने ठाउँ नभएपछि भक्तपुरका सडकभरि धान
भक्तपुर, कात्तिक २८ । भक्तपुर नगर क्षेत्रभित्र धान सुकाउने ठाउँको अभाव भएपछि यहाँका कृषकले सार्वजनिक स्थल, सडक, चौर, पार्क, मन्दिर र घाटमा धान सुकाइआएका छन् ।
विशेष गरी नगर क्षेत्रमा नेवार समुदायका लागि धान सुकाउने ठाउँको अभाव भएपछि यहाँका कृषकले सडक, पार्क र भूकम्पले क्षति नपु¥्याएका ठाउँमा धान सुकाउने गरेका हुुन् ।
विनाशकारी भूकम्पका कारण धान सुकाउने ठाउँको अभाव भएपछि पैदल मार्गका रुपमा प्रयोग हुने सडकहरुमा धान सुकाउँदा सर्वत्र धानैधान देखिएको हो ।
यसरी धान सुकाउँदा भक्तपुर घुम्न आउने पर्यटकसमेत मुग्ध हुन्छन् । भक्तपुर नगरपालिका चोछेंका राजाराम श्रेष्ठले धान सुकाउने ठाउँ नभएपछि रहरले नभई बाध्यतावस सडकदेखि मन्दिरसम्म धान सुकाउनुपरेको बताउनुभयो ।
धान सुकाउने ठाउँ अभावमा भक्तपुरका कृषकले सडक, चौर र खुल्ला क्षेत्रमा समेत आलोपालो गरेर धान सुकाउने गरेको भक्तपुर व्यासीका रामकृष्ण प्रजापतिले बताउनुभयो ।
भक्तपुरको च्याम्हसिंह, ब्यासी, जिल्ला प्रशासन कार्यालय जाने सडक, खानेपानी कार्यालय क्षेत्र, दूधपाटी जाने सडक क्षेत्र, पोखरी आसपासलगायतका सडक र खुल्ला क्षेत्रमा कृषकले सामूहिक रुपमा धान सुकाएका छन् ।
(रासस)
२८ कात्तिक २०७२, शनिवार ०२:४४ बजे प्रकाशित