साढे तीन सय औषधि बोकेका ट्रक रक्सौलमा अलपत्र !

पर्सा, कात्तिक २१। मधेस केन्द्रित दलले गरेको आन्दोलन तथा भारतले गरेको अघोषित नाकाबन्दीको कारण नेपालका लागि आयात गरिएका तीनसय ट्रकभन्दा बढी औषधि सीमास्थित भारतको रक्सौलमा थन्किएका छन् ।

वीरगन्जको मितेरी पुलमा मोर्चाका नेता कार्यकर्ताले गरेको धर्ना र अघोषित नाकाबन्दीका कारण नेपालका लागि आयात गरिएका तीनसयभन्दा बढी ट्रक औषधि र औषधि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ विगत दुई महिनादेखि सीमाक्षेत्रमा थन्किएको हो ।

युद्धकालीन अवस्थामा समेत उपचार तथा औषधिलाई रोक्न नपाइने अन्तर्राष्ट्रिय कानुन भएपनि सो कानुनलाई उल्लङ्घन गर्दै भारतले नेपालका लागि आयात गरिएको औषधि रक्सौल नाकामा थन्काई राखेको नेपालका आयातकर्ताले बताएका छन् ।
नेपाल औषधि व्यवसायी महासङ्घका उपाध्यक्ष प्रकाश खण्डेलवालले भारतको रक्सौल नाकामा नेपालका लागि आयात गरिएका तीनसयभन्दा बढी ट्रक थन्किएको जानकारी दिए ।

उनले थन्किएका ट्रकहरुको रुट परिवर्तन गरी भैरहवा लैजाँदासमेत भारतले आलु प्याज नेपाल भित्रिन दिएपनि अति आवश्यकीय वस्तुको रुपमा रहेको औषधिलाई भारतमै थन्काएको आरोप लगाए ।

रक्सौलमा महिनौदेखि थन्किएका औषधि बिग्रने सम्भावना रहेका कारण केही औषधि ट्रकबाट झारेर रक्सौलकै गोदाममा राख्नुपरेको उपाध्यक्ष खन्डेलवालले जानकारी दिए ।

भारतबाट आयात गरिएका औषधिका कच्चा पदार्थ बोकेका ट्रक सिमापारी नै थन्किएपछि वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका करिब एक दर्जनभन्दा बढी औषधिजन्य उद्योग बन्द हुने अवस्थामा पुगेको उपाध्यक्ष खन्डेलवालले जानकारी दिए ।

नेपालका लागि आयात गरिएको औषधिलाई नियम कानुन र सम्बन्धसमेतलाई मिचेर भारतले देखाएको दादागिरीबाट अन्तर्राष्ट्रिय क्षेत्रमा भारतमाथि नकारात्मक प्रभाव पार्ने नागरिक समाजका अगुवा डा दीपक शाक्यले बताए ।

उनले भारतले नेपाललाई असल छिमेकी मान्छ भने उसको सिमाक्षेत्रमा रोकिएका अतिआश्यकीय वस्तु औषधि लगायतलाई यथाशीघ्र नेपाल पठाउनुपर्ने धारणा व्यक्त गरे ।

करिब तीन महिनादेखिको बन्द हडताल र नाकाबन्दीका कारण दशँैभर औषधिको अभाव हुँदै जाँदा सर्वसाधारणको ज्यान नै जोखिम्मा पर्न थालेको छ ।

नेपालका लागि आवश्यक ६० प्रतिशत औषधि वीरगन्ज नाकाबाटै आयात हुदैँ आउने गरेको छ ।

२१ कात्तिक २०७२, शनिवार १३:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु