कैलालीका अपाङ्गता भएका व्यक्तिहरु भन्छन्, ‘राज्यले प्रदान गर्ने सुविधाबाट बञ्चित छौं’
धनगढी, ११ फागुन । आजसम्म पनि अपाङ्गता भएका व्यक्ति राज्यका विभिन्न सुविधाबाट बञ्चित भएका कैलालीका अपाङ्गता भएका व्यक्तिले गुनासो गरेका छन् । धनगढीमा भएको एक कार्यक्रममा सहभागि सरोकारवालले यस्तो बताएका हुन् । महिला तथा बालबालिका कार्यालय धनगढीकी प्रमुख पूजा काफ्लेले अपाङगता भएका व्यक्ति राज्यले प्रदान गर्ने विभिन्न सुविधाबाट बञ्चित भएको बताइन् । अधिकांश अपाङ्गता भएका व्यक्तिको विद्यालयबाट प्रदान गरिने छात्रवृति देखि परिचय–पत्र प्राप्त सम्ममा पहुँच नपुगेको उनले उल्लेख गरिन् ।
अपाङ्गता भएका व्यक्तिले पाउने परिचय–पत्रबारे स्पष्टता नहुँदा पनि अधिकांश व्यक्ति यो सुविधाबाट छुटेको महिला विकास अधिकृत काफ्लेको भनाई छ । हाल चार वर्गमा विभाजन गरेर परिचय पत्र वितरण गरिन्छ । पूर्ण अशक्त अपाङ्गता भएकाले ‘क’ वर्गको रातो कार्ड, अति अशक्त व्यक्तिले ‘ख’ बर्गको निलो कार्ड, मध्यम अपाङ्गता व्यक्तिले ‘ग’ वर्गको पहेँलो कार्ड र सामान्य अपाङ्गता व्यक्तिले ‘घ’ वर्गको सेतो कार्ड पाउने व्यवस्था सरकारले गरेको छ । तर, धेरै व्यक्तिलाई यस सम्बन्धमा जानकारि नहुँदा सुविधा उपभोग गर्नबाट बञ्चित भएको बताइएको छ । वि.सं. २०६८ सालको जनगणना अनुसार कैलालीमा १२ हजार ५८० जना अपाङ्गता भएका व्यक्ति छन् । जसमध्ये ५ हजार ६६१ महिला छन् भने, ६ हजार ९१९ जना पुरुष रहेका छन् । यी मध्ये ५ हजार ३३० शारिरिक अपाङ्गता, २ हजार ३६० जना दृष्टिविहिन र १ हजार ७ सय सुनाइ सम्बन्धि अपाङ्गता रहेका महिला विकास अधिकृत काफ्लेले जानकारि दिइन् । महिला तथा बालबालिका कार्यालयबाट सबै दिन अपाङ्गता परिचयपत्र वितरण नहुने भएकाले जानकारि नहुँदा धेरै टाढाबाट आउने सेवाग्राही दुःख पाउने गरेका छन् । महिनाको १ र १६ गते मात्रै अपाङ्गता परिचय–पत्र वितरण हुने भएकाले सो दिन मात्रै सेवा लिन अपाङ्गता भएका व्यक्तिलाई आउन महिला विकास अधिकृत काफ्लेको आग्रह छ । कैलालीमा रहेका अपाङ्गता व्यक्तिको क्षेत्रमा कार्यरत संघ–सस्थाका अनुसार विभिन्न समस्याका कारण अपाङ्गता भएका व्यक्ति सुविधाबाट पछाडि परेकोे बताइन्छ । कुनै ठाउँमा वास्तविक अपाङ्गताले सुविधा नपाएको तर सपाङ्गता व्यक्तिले अपाङ्गता भएका व्यक्तिको सुविधामा रजाइ गरिरहेको भेटिने गरेको पनि अपाङ्गताको क्षेत्रमा कार्यरतको भनाइ छ ।
कुनै विद्यालयमा अपाङ्गताको लागि आउने छात्रवृतिमा सपाङ्गता भएकालाई छात्रवृति वितरण गर्ने गरेको अपाङ्गता व्यक्तिको गुनासो छ । जिल्ला शिक्षा कार्यालय तथा विद्यालयको लापरबाहिका कारण कैलालीमा वर्षेनि अपाङ्गताको छात्रवृतिका लागि आउने ठूलो बजेट फ्रिज जाने गरेको बताइन्छ । छात्रवृति प्राप्त गर्नुपर्ने व्यक्तिले सुविधा नपाएर अपाङ्गताको लागि आउने बजेट पनि कतिपय विद्यालयले आफू निकटकालाई प्रदान गर्ने गरेको अपाङ्गता व्यक्तिको गुनासो छ । महिला तथा बालबालिका कार्यालय धनगढीका अनुसार अपाङ्गताको क्षेत्रमा पर्याप्त बजेटमुलक कार्यक्रमको अभावले पनि अपाङ्गता भएका व्यक्तिले विभिन्न प्रकारको समस्या खेप्न बाध्य भएका छन् । पर्याप्त बजेट नहुँदा अपाङ्गता व्यक्तिका लागि सीपमूलक तालिम संचालन गरेर उनीहरुलाई स्वरोजगार बनाउन समस्या भइरहेको अपाङ्गताको क्षेत्रमा कार्यरत सस्थाको भनाइ छ । अपाङ्गताको क्षेत्रमा कार्यरत संघसंस्थाको पनि साझा बुझाइ नहुँदा पनि अपाङ्गता भएका व्यक्ति सुविधा उपभोगबाट पछाडी परेको महिला विकास अधिकृत काफ्लेले बताइन् । समान धारणा बनाएर उनीहरुको सुविधा प्रदान गर्नमा लागि परेमा यस्ता समस्या समाधान गर्न सकिनेमा उनले जोड दिइन् । वास्तविक अपाङ्गता भन्दा पनि बढि समाङ्ग व्यक्ति पनि सुविधा उपभोग गर्न कार्यालयमा आउने गरेको उनले सुनाइन् । वौद्धिक अपाङ्गता भएका व्यक्तिको पहिचान गरि परिचय पत्र दिन समस्या रहेको समेत उनले उल्लेख गरिन् । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले अपाङमैत्रि सरकारी भवन नभएकाले हपाङ्गता भएका व्यक्ति धेरै सुविधा उपभोग गर्नबाट बञ्चित हुनु परेको वाध्ययता सुनाए । उनले अब बन्ने सम्पूर्ण सरकारी कार्यालय अपाङ्मैत्री निमार्ण गर्नुपर्नेमा जोड दिए । समस्या थुप्रै रहे पनि समाधान खोज्न तर्फ सबैको ध्यान जानुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी चौधरीले सुझाव समेत दिए ।
धनगढी बाट पत्रकार लोकेश धामीको सहयोगमा
११ फागुन २०७३, बुधवार १०:५० बजे प्रकाशित













