एमाओवादी नेता कार्यकर्तामाथि आक्रमण
लहान, ८ फागुन । पूर्वमन्त्री तथा एकीकृत नेकपा माओवादीका २ नं प्रदेश इन्चार्ज विश्वनाथ साहसहितका एमाओवादी नेता कार्यकर्तामाथि शुक्रबार सिरहाको मझौलियाँमा आक्रमण भएको छ ।
सिरहास्थित एमाओवादीका केन्द्रीय परिषद् सदस्य फुलगेन नायकको घरबाट गाडीमा फर्कंदै गर्दा सिरहाको मझौलियाँ–५ मा एक समूहले आक्रमण गरेको इन्चार्ज साहले जानकारी दिए ।
गत फागुन ३ गते नेपाली काँग्रेसका नेता एवम् सांसद गणेश मण्डल र एमाओवादीका नेता फुलगेन नायकबीच भएको विवाद सम्बन्धमा जानकारी लिन नायकको घर गएको र फर्किने क्रममा आफूहरुमाथि आक्रमण भएको साहको भनाइ छ ।
उक्त समूहको आक्रमणबाट पूर्वमन्त्री साह सामान्य घाइते भएका छन् भने उहाँकै गाडीमा सवार एमाओवादीका नेता उपेन्द्र साह गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते भएका उपेन्द्र साहलाई उपचारका लागि तत्कालै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको पूर्वमन्त्री साहले जानकारी दिए । आक्रमणबाट नेता साह सवार गाडीको सिसा फुटेको छ ।
करिब ५०÷६० जनाको समूहमा आएका धेरैले नकाव लगाएकाले अधिकांशलाई चिन्न नसकेको साहले बताए ।
घटनामा स्थानीय प्रहरी प्रशासन तथा काँग्रेसको मिलेमतो रहेको उहाँको आरोप छ । यता इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।
८ फागुन २०७२, शनिवार ०३:१६ बजे प्रकाशित