गलेश्वरधाममा राधाकृष्ण महामहोत्सव सुरु
बेनी (म्याग्दी), १ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाममा शुक्रबारदेखि राधाकृष्ण महामहोत्सव सुरु भएको छ ।
विसं २०४४ मा स्थापित राधाकृष्ण मन्दिरको आधुनिक कलाकृतिले सु–सज्जित रुपमा प्राचीन विमानशैलीमा पुनर्निर्माण गरी रथयात्रासहित उद्घाटन गरिएको हो ।
मन्दिर उद्घाटनसत्रको पूर्वसन्ध्यामा चतुर्वाहु कृष्णको मूर्तिको रथयात्रासहित म्याग्दी सदरमुकाम बेनीबजारको परिक्रमा गराई गलेश्वर मन्दिरमा पु¥याइएको थियो ।
गलेश्वर मन्दिर परिसरभित्र रहेको शिवालय मन्दिरको मुख्य प्रवेशद्वार अगाडि मूर्तिको पूजा गरी उक्त मन्दिरको परिक्रमा गराई राधाकृष्ण मन्दिरमा प्रवेश गराइएको थियो ।
मूर्तिको अनन्तश्रीविभूषित स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाले उद्घाटन गर्नुभयो । कार्यक्रममा स्वामी ऋषिप्रपन्नाचार्यले मन्दिर निर्माणबारे जानकारी गराउनुभएको थियो । उहाँले मन्दिर निर्माणका लागि हालसम्म रु ४९ लाख खर्च भइसकेको बताउँदै स्वामी कमलनयनाचार्यका भक्तको सहयोगमा मन्दिर निर्माण गरिएको जानकारी दिनुभयो ।
साथै स्वामी प्रपन्नाचार्यले हालसम्म मन्दिर निर्माणका लागि रु ४८ लाख ३८ हजार १४५ सहयोग भएको बताउनुभयो । निर्माण गरिएको मन्दिरको पूवतर्फ चतुर्वाहु कृष्णको मूर्ति, पश्चिमतर्फ बह्मा, विष्णु र महेश्वरको, उत्तरतर्फ राधाकृष्ण र दक्षिणतर्फ सीतारामको मूर्ति कुँदिएको छ ।
यसैगरी मन्दिरको शिरमा चार चोसामा चार वटा गरुडका मूर्ति र शिरमा आठ वटा सिंह प्रकृतिका प्रतिक छन् भने तिनलाई वशमा लिने चार वटा विष्णु भगवान्का मूर्तिलगायत थुप्रै मूर्ति एवम् पौराणिक प्रतीक कुँदिएको छ ।
फागुन ५ गतेसम्म चल्ने महोत्सवको दोस्रो दिन तीर्थस्नान अंकुरारोपण र ध्वजारोहण, तेस्रो दिन मण्डपपूजा जलाधिवास र दुग्धाधिवास, चौथो दिन धान्याधिवास हवान आदी, पाँचौँ दिन शैयाधिवास नित्यकर्म र अन्तिम दिन नेत्रोन्मीलन प्राण प्रतिष्ठा गरिने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।
मन्दिर उद्घाटन कार्यक्रममा संसद्का सांसद रेशमबहादुर बानियाँ, नेकपा (एमाले) म्याग्दीका उपाध्यक्ष देवेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, म्याग्दी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कर्माचार्य, क्षत्री समाज म्याग्दीका अध्यक्ष अमृतदेवी बानियाँ र धार्मिक सङ्घसंस्थाको तर्फदेखि प्रकाशकुमार श्रेष्ठले महोत्सका विविध पक्षमाथि चर्चा गर्नुभएको थियो । रासस
१ फागुन २०७२, शनिवार ०२:५५ बजे प्रकाशित