काँकडभिट्टा (झापा), २९ माघ । सडक पेटीमा जीवन गुजारा गरिरहेको लोेकबहादुर गन्धर्व परिवारले बिहीबार दुईकोठे पक्की घर पाएको छ ।
करिब दुई महिनादेखि घर निर्माणमा जुटेको युथ एक्सन नेपाल र त्यसका स्वयम्सेवकहरुले संयुक्त रुपमा घरको साँचो एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेका हुन् ।
घर निर्माणमा रु एक लाख ६६ हजार ६१९ खर्च लाग्यो । जहाँ आज लोकबहादुर, उनकी श्रीमती मनमाया र दुई छोरीलाई भित्र्याइएको छ ।
पच्चीस महिना पहिला पूर्वपश्चिम राजमार्गको झापाको बुट्टाबारी सडकखण्ड (फुटपाथ) को एउटा मलामी विश्रामालय (चौतारो) मा सुत्केरी भएकी मनकुमारी चेम्जोङ (गन्धर्व) को पीडालाई समेटेर विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए ।
बीस दिनकी सुत्केरीको पीडा समेटिएको समाचारले धेरैको ध्यान खिच्यो । उनीहरुलाई देश–विदेशबाट आर्थिक सहयोग जुट्यो । जुटेको रु एक लाखबाट पत्रकार पर्वत पोर्तेल र विशाल नेम्वाङको अगुवाइमा डेढ वर्षअघि पाँच धुर जमिन खरिद गरिएको थियो, बिर्तामोड नगरपालिका–५ बुट्टाबारीमा ।
युथ एक्सन नामक सामाजिक संस्थाको अगुवाइमा घर निर्माण सुरु भएको थियो गत पुस १ बाट । युथ एक्सनका झापा संयोजक दीपक दास, युवा स्वयम्सेवक परिचालक विशाल नेम्वाङ, सदस्यहरु शेर्पा दावा छिरिङ, नारद नेपाललगायत ५० जना स्वयम्सेवकले श्रमदान गरेका थिए ।
घर निर्माणका लागि बिर्तामोडको रोटरी क्लबले रु ५० हजार, समाजसेवी रामकुमार कन्दङ्वाले दिवङ्गत छोरी रञ्जनाको स्मृतिमा रु २० हजार, निलगिरी हाउजिङका होम पाण्डेले रु २० हजार, मेची भन्सार कार्यालयले रु १५ हजार, काँकडभिट्टाका होटल व्यवसायी सजित तामाङले रु १० हजार, बिर्तामोड नगरपालिका र खानेपानी आयोजना बिर्तामोडले रु १०÷१० हजार सहयोग उपलब्ध गराएका थिए । रासस