सद्भावनाका अध्यक्ष महतो फेरि बिरामी !

newsसिरहा, ७ माघ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो फेरि बिरामी परेका छन् । सिरहाको लहानमा पार्टी कार्यकर्तासँग छलफल गरिरहेकै बेला बुधबारअचानक उच्च रक्तचाप बढेर उनी विरामी परेका हुन् ।

“अचानक उच्च रक्तचाप बढेर बेहोस भएपछि उपचारका लागि लहानस्थित डिभाइन अस्पतालका डा चन्द्रशेखर यादवलाई बोलाएँ”– सद्भावना पार्टीका महासचिव राजुु गुुप्ताले भने – “डाक्टरको सल्लाहअनुसार अहिले उहाँ बेडरेस्टमा हुनुहुन्छ ।”

विराटनगरको जोगवनी नाकामा धर्नाका क्रममा झडपमा गम्भीर घाइते हुनुभएका महतो दिल्लीमा उपचार गराएर तीन दिन अगाडिमात्रै काठमाडौँ पुगेका थिए ।

दिल्लीका चिकित्सकले अध्यक्ष महतोलाई केही दिन आराम गर्न सुुझाव दिए पनि उहाँ सल्लाह नमानेर काठमाडौँ पुुग्नेबित्तिकै राजनीतिक भेटघाटमा व्यस्त भएका थिए ।

काठमाडौँमा राजनीतिक भेटघाट र पार्टीको बैठकपछि पहिलो मधेस आन्दोलनको पहिलो सहिद रमेश महतोको बलिदानी दिवस मनाउन मङ्गलबार लहान आएर कार्यक्रममा पनि करिब एक घन्टाभन्दा बढी बोले ।

बेडरेस्ट नगरेकै कारण उनी फेरि बिरामी परेको उपचारमा संलग्न डा यादवले बताए । उनका अनुसार टाउको दुख्ने, रक्तचाप उच्च हुने, रिँगटा लाग्ने र आँखा दुख्नेलगायतका समस्याबाट अध्यक्ष महतो ग्रसित भएका छन् ।

अचानक बिरामी परेपछि उहाँ सिरहाको माडरमा बुधबार मधेसी मोर्चाले आयोजना गरेको सभामा समेत जान सकेनन र लहानकै होटलमा आराम गर्दै छन् । बिहीबार राजविराजस्थित मोर्चाको सभामा सहभागी हुने सम्भावना पनि घटेको छ ।

६ माघ २०७२, बुधवार २३:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु