साढे तीन करोडको राहत वितरण
रसुवा, २२ पुस । भूकम्पपीडितलाई जाडो मौसममा सहज वातावरण बनाउन रसुवाका चार गाविसका बासिन्दालाई राहत वितरण कार्य सम्पन्न गरिएको छ ।
नेपाल रेडक्रस जिल्ला शाखा रसुवाका सभापति बाबुलाल तमाङका अनुसार नेपाल सरकारले घोषणा गरेको रु १० हजार बराबरको न्यानो लुगा कार्यक्रमअन्तर्गत जिल्ला दैवी प्रकोप उद्धार समितिको स्वीकृतिमा यार्सा, भोर्ले, डाँडागाउँ र ठूलोगाउँ गाविसका गरी तीन हजार ३५२ जना भूकम्पपीडितलाई रेडक्रसका तर्फबाट रु तीन करोड ३५ लाख २० हजार वितरण कार्य सम्पन्न गरिएको हो ।
वितरण गरिएको गाविसमध्ये यार्सामा ९४२, भोर्ले एक हजार ४२२, डाँडागाउँ ६०१ र ठूलोगाउँमा ३८७ घरपरिवार रहेको बताइएको छ । जिल्लाका अन्य १४ गाविसमा वितरण गरिएको विवरण भने आउन बाँकी रहेको छ ।
२२ पुस २०७२, बुधवार ०४:१३ बजे प्रकाशित