आफ्नो बजेट नबाड्न बाल सञ्जालको चेतावनी

जुम्ला, १९ पुस । चन्दननाथ नगरस्तरीय बाल सञ्जालका पदाधिकारीहरुले बालबालिकाका लागि राज्यले छुट्याउने १० प्रतिशत बजेट अन्यक्षेत्रमा खर्च गर्न लागिएको प्रति खबरदारी गर्दै आएका छन् ।

सञ्जालका पदाधिकारीहरुले चन्दननाथ नगरपालिकाको कार्यालयमा खबरदारी गरेका छन् ।

चालु आव ०७२÷७३ मा बालबालिकाको रु तीन लाख रकम नगरपालिकाले ल्यान्डफिल्ड साइटमा हालेको भन्दै सञ्जालका कार्यबाहक अध्यक्ष ईश्वर खत्रीले रोष प्रकट गर्नुभयो । बालबालिकाको नाममा आएको रकम राज्यबाट उपलब्ध भएको तर स्थानीय निकायले आफूहरुलाई अन्याय गरेको उनको आरोप छ ।

वडास्तरीय बाल सञ्जालदेखि नगरस्तरीय बाल सञ्जालसम्मका पदाधिकारीलाई नीति, योजना, बजेट तथा कार्यक्रम निर्माणमा कुनै जानकारी नगराइएकोमा सञ्जालले आपत्ति जनाएको छ ।

आगामी आवको प्रस्तावित बजेटमा बालबालिकाका लागि आएको रकम विद्युत्मा हाल्ने भन्ने सुनिएकाले खबरदारी गर्न बाध्य भएको अध्यक्ष खत्रीले बताए ।
उनले आफ्ना आवाजको सुनुवाइ नगरेको खण्डमा केन्द्रीय बाल सञ्जाललाई बोधार्थ दिएर वडास्तरीय बालसञ्जालदेखि नगरस्तरीय बाल सञ्जालका पदाधिकारीहरु सहभागी भई नगरपालिका तालाबन्दी गर्न बाध्य हुने चेतावनी दिए ।

नगरपालिकाका कार्यकारी अधिकृत यामनारायण गौलीले बालबालिकाका सहित सबै लक्षित वर्गको बजेट नगर उज्यालो कार्यक्रमका लागि नगरपरिष्दले वैकल्पिक प्रस्ताव राखेको बताए ।

कार्यकारी अधिकृत गौलीका अनुसार विद्युत्भार कटौतीको चर्को मार खेपिरहेको नगरपालिकामा उज्यालो पहिलो आवश्यकता भएकाले एकीकृत लगानी गर्न प्रस्ताव गरिएको हो ।

यद्यपि यो प्रस्ताव नचाहेको खण्डमा आफ्नो योजना तथा कार्यक्रमअनुसार लक्षित वर्गले बजेट खर्च गर्न सक्ने सरल विकल्प राखिएको उहाँको भनाइ छ ।

१९ पुस २०७२, आइतवार ०५:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु