अस्ट्रेलियामा बस्ने नेपालीले बनाए गज्जबको एप, सीप हुनेलाई स्वरोजगार बनाउने

अस्ट्रेलियामा बस्ने एक नेपालीले गज्जबको उपयोगी एप विकास गरेका छन् ।

काठमाडौं नैकाप घर भएका प्रकाश मालाकारले सबै सेवा एउटै एपबाट दिन मिल्नेगरी ‘अल ईन वान’ मोबाइल एप तयार पारेका हुन् ।

उनले तयार पारेको ‘मालाकार’ एप गूगल प्ले स्टोर तथा आईओएस एप स्टोरमा सार्वजनिक भइसको छ । प्रयोगकर्ता र सेवा प्रदायकहरुका लागि छुट्टा छुट्टै एप बनाइएको छ ।

एपमा ‘अन डिमाण्ड होम सर्भिस’लाई तीन वटा मूख्य समूहमा सेवाहरुलाई वर्गीकरण गरिएको छ । जसमा राइड शेयरिङ, फूड डेलिभरी र अन्य सेवाहरु छन् ।

यो एपमार्फत हाल अस्ट्रेलियामा सेवा दिन सुरु भइसकेको छ । हाल एपले फूड डेलिभरीबाट आफ्नो सेवा आरम्भ गरेको संस्थापक प्रकाशले बताए ।

‘मुख्यतः नेपाललाई नै लक्षित गरी यो एप बनाइको हो,’ उनी भन्छन्, ‘कोभिडले गर्दा लकडाउन तथा निषेधाज्ञा लागेका कारण हामीले अस्ट्रेलियाबाट यसको सेवा सुरु गरेका छौं ।

अवस्था समान्य हुँदै गएसँगै नेपालमा समेत सेवा सुरु गर्ने तयारीमा छौं ।’

अन्य सेवाहरुमा सेफ्टी ट्याङक सफा गर्ने, ट्युटर ९ट्युसन क्लास दिने०, पुजारी, मुभर्स (घरसर्दा सामान ओसारपोसार गर्ने), रोड एसिस्टेन्स (सडकमा गाडी बिग्रिँदा बनाइदिने) र लयर (वकिल) सम्मका सेवाहरु समेटिएका छन् । यति मात्र होइन बार्बर ( आएर कपाल काटिदिने), बेबी सिटर (बालबालिकाको हेरचाह गरिदिने), कार्पेन्टर (फर्निचर बिग्रिँदा बनाइदिने), इलेक्ट्रिसियन, प्लम्बर, ब्युटिसियन, फोटोग्राफर र मसाज जस्ता सेवा समेत घरमै उपलब्ध गराउने गरी यो एप ल्याइएको हो ।

साथै लक स्मिथ ९चाबी बिर्सिँदा बनाइदिने०, पेस्ट कन्ट्रोल ९घरमा किरा मारिदिने०, पेन्टिङ, रेफ्रिजेरेटर बिग्रिदा बनाउन प्राविधिक, कम्प्युटर रिपेयर, एसी टेक्निसियन, वासिङ मसिन बनाइदिने, साउण्ड सिस्टमका लागि डिजे, क्लिनिङ (बाथरुम तथा कोठा सफा गरिदिने), ड्राइभिङ क्लास जस्ता सेवा समेत यसमा समेटिएका छन् ।

एपमा उपलब्ध यस किसिमका सेवा तुरुन्तै चाहियो भने अर्डर गर्न सकिन्छ । भोलि वा पर्स चाहिएको हो भने बूक गराउन मिल्छ ।

‘पहिले ट्याक्सि चाहिँदा पहिल्यै बूक गर्नुपर्ने हुन्थ्यो ।

अहिलेका उबर, ओला जस्ता प्लेटफर्म अगाडि नै बूक गर्नु पर्दैन, जतिखेर चाहियो त्यतिखेर नै बूक गर्छौं,’ आफ्नो एपमा भएको राइड शेयरिङ फिचर उल्लेख गर्दै प्रकाश भन्छन्,

‘यसमा भएका सबै सेवा त्यस्तै हुन् । मानौं कसैलाई घरमा ब्युटिसियन चाहियो भने तत्कालै बोलाउन सकिन्छ ।’

अहिले एपमा विभिन्न किसिमका सेवा दिने व्यक्तिहरुले आफू र आफ्नो सेवालाई रजिस्टर गर्ने क्रम सुरु भइसकेको छ । सेवा दिनेहरुले एपबाटै रजिस्टर गर्न सक्छन् ।

सेवाको गुणस्तर र सुरक्षाका लागि सम्बन्धित डकुमेन्ट अपलोड गर्नुपर्ने हुन्छ । उदाहरणको रुपमा राइड शेयरिङका लागि लाइसेन्स र ब्लूबूकको स्क्यान कपी अपलोड गर्नुपर्ने हुन्छ ।

यसरी अपलोड भएका कागजात मालाकारको टिमले भेरिफाई गर्छ । भेरिफाई भएपछि सेवाप्रदायकले काम गर्न पाउँछन् ।

एपमा उनीहरुको पेशाअनुसारको काम र त्यसको शुल्क सुरुमै उल्लेख गर्नुपर्ने हुन्छ ।

यो एपको मौलिकता भनेकै यसले लोकेसन अनुसार काम गर्छ । यसको अर्थ सेवाग्राहीहरुले आफूबाट नजिकै रहेका सेवाप्रदायकहरु एपमा रहेको नक्सामा फेला पार्न सक्छन् ।

सुरुवाती समयमा १० किमी दूरीको रेडियस राख्ने योजना रहेको प्रकाशले सुनाए । जसले गर्दा अहिले अहिले धेरै सेवाप्रदायकहरु देखिनेछन् ।

सेवाप्रदायकको संख्या बढ्दै गएपछि रेडियस घटाउने प्रकाशको योजना छ ।

‘यसले गर्दा सेवा दिनेलाई पनि घरबाट टाढा गएर काम गर्नु पनि परेन । घर छेउमै काम गर्न पाइयो । जाम छिचोल्न नपरेपछि धेरै जनालाई सेवा दिन सकिने समय हुन्छ,’ उनी भन्छन् ।

उदाहरणको लागि तपाईंलाई ब्युटिसियन चाहियो भने उनीहरुको प्रफाइल सहित शुल्क हेर्न मिल्छ ।

एउटै किसिमको सेवा दिनेहरुमध्येबाट तपाईंले रोजेर सेवाका लागि रिक्वेस्ट गर्न सक्नुहुन्छ । रिक्वेस्ट एसेप्ट हुने बित्तिकै प्रयोगकर्ताको मोबाइलमा नोटिफिकेसन जान्छ ।

अहिले सिपालु मान्छे एकदमै व्यस्त हुने र सीप भएका मानिसहरुले ग्राहक नै नपाउने अवस्था छ । प्रकाश आफ्नो एपबाट यस किसिमको समस्याको समाधान गर्न चाहन्छन् ।

उनी भन्छन् ,’काम गर्नसक्ने सीप भएकाले समेत काम पाइरहेका हुँदैनन् । हामीले त्यस किसिमका मानिसहरुको समस्या समेत समाधान गर्न चाहन्छौं ।

यसले पसल थापेर भाडा तिरेर पनि बस्नु परेन । घरको काम गरेर बसे भयो । रिक्वेस्ट आउँदा गएर सेवा दिन सकियो ।’

सेवा दिने व्यक्तिको प्रोफाइल, शुल्कसँगै रेटिङ गर्न मिल्ने सिस्टम समेत बनाइएको छ । प्रयोगकर्ताले प्राप्त गरेको सेवाका आधारमा रेटिङ दिन सक्छन् ।

‘मालाकार’ले भविष्यमा सेवा दिने व्यक्तिको प्रहरी रिपोर्ट समेत चेक गर्ने संयन्त्रको परिकल्पना समेत गरेको छ ।

यसबाट कुनै अपराधिक पृष्ठभूमि भएका व्यक्तिहरु एपमा सेवाप्रदायकको रुपमा जोडिन पाउने छैनन् ।

उपलब्ध सेवाको प्रकार अनेक भए पनि सहर अनुसार कस्टमाइज सेवा उपलब्ध गराउन एपमा विशेष किसिमको मोड्युल विकास गरिएको छ ।

प्रकाशका अनुसार सेवा आवश्यक नभएको स्थानमा त्यस्तो सेवालाई डिसेबल (निष्क्रिय) पारिने प्रकाशले बताए ।

सामान्यता अनलाइनबाट सेवा दिने प्लेटफर्महरु बजारमा नभएका पनि होइनन् । तर सिस्टम निकै झन्झटिलो छ ।

यस किसिमको अवस्था नेपालमा मात्र होइन, अस्ट्रेलियामा समेत प्रकाश आफैंले भोगेका छन् । त्यही भोगाईले गर्दा नै उनलाई यस किसिमको ‘अल ईन वान’ एपको आइडिया फुरेको हो ।

इलेक्ट्रिसियन चाहियो भने फेसबुकमा जस्तै पोस्ट गर्ने गरेका हुन्छन् । सेवा दिने जति छन्, भएभरका सबैले त्यसमा कमेन्ट गर्छन् ।

एउटा पोस्टमा सय जनाको कमेन्ट हुन्छ । तर अन्तिममा काम पाउने एक जना मात्रै हो ।

बाँकी ९९ जनालाई व्यर्थको दुःख भयो । प्रयोगकर्तालाई पनि सयमध्ये कसलाई छान्ने भन्ने दुविधा हुन्छ । यसले सेवा दिने प्लेटफर्म भए पनि ढिलो र झन्झटिलो बनाइरहेको छ ।

यही समस्या देखेर काम नै प्रकाशले ‘मालाकार’को परिकल्पना गरेका हुन्छ । ‘यस्तो एप अरु देशमा पनि देखिँदैन ।

त्यसैले यो सबै देशका लागि यो सेवा उपयोगी हुन्छ भन्ने लाग्छ,’ उनी भन्छन्, ‘साथीहरुले अमेरिकामा समेत यो सेवा सुरु गर्ने इच्छा देखाइरहेका छन् ।’

प्ले स्टोर र एप स्टोरमा गत जनवरीमै एप रिलिज भए पनि कोभिडले गर्दा प्रकाश अहिलेको समय एप टेस्टिङ र त्यसको थप सुधारको काममा व्यस्त छन् ।

नेपालमा एपको सेवाको रुपमा कास्टिङ सुरु भएको छ । अस्ट्रेलियामा भने दुई साता अघिबाट फूड डेलिभरी सेवा सुरु भएको छ ।

फूड डेलिभरी सेवा मध्यम वर्गीय मानिसलाई केन्द्रीत गरेर सञ्चालनमा ल्याउने प्रकाशको योजना छ । नेपाली बजारमा अन्य फूड डेलिभरी प्लेटफर्म उपलब्ध भए पनि आफ्नो सेवा भने अलि पृथक रहेको उनी बताउँछन् ।

सुरुमा प्रयोगकर्ताले एपमा बूक गर्ने वित्तिकै रेस्टुरेन्टमा बूकिङको अनुरोध जान्छ । खाना तथा खाजा बनाउन सक्ने भए रेस्टुरेन्टले एसेप्ट गर्छ ।

खाना तयार हुँदै गर्दा वरपर स्वतन्त्र रुपमा डेलिभरीका लागि तयार भएका बाइक तथा साइकल हुन्छन् ।

खाना तयार भइसकेपछि सबैभन्दा नजिकै रहेको व्यक्तिको मोबाइलमा स्वचालित रुपमा मोबाइलमा रिङटोन बज्छ । लोकेसन सबै म्यापमै हेर्न मिल्छ ।

लोकेसन पच्छ्याउँदै बाइक तथा साइकलले युजरको लोकेसनसम्म पुर्‍याउँछन् । नेपालमा डेलिभरी चार्ज महंगो हुनसक्ने विषयलाई प्रकाशले चुनौतीको रुपमा हेरेका छन् ।

‘अहिलेका लागि रेस्टुरेन्टले फ्री डेलिभरी गरिदिए सबैभन्दा उपयुक्त हुन्छ,’ उनी भन्छन्, ‘तर पनि हामी हाम्रा स्वतन्त्र डेलिभरी गर्नेहरुलाई यसमा जोड्दै छौं ।

रेस्टुरेन्टका मेनुहरु पनि एपमा लिस्टिङ गर्ने काम भइरहेको छ ।’

यस्तै किसिमको फूड डेलिभरी सर्भिस अस्ट्रेलियामा भने सुरु भइसकेको छ । राइड शेयरिङ भने आफूले अस्ट्रेलियाका लागि नसोचेको प्रकाशले बताए ।

हाल अस्ट्रेलियामै रहेका प्रकाशले भने, ‘यहाँ उबर, ओला जस्ता मल्टी मिलियन कम्पनी छन् । चाइनाको जाइन्ट डीडी कम्पनी पनि यहाँ छ ।

यस्ता कम्पनीसँग प्रतिस्पर्धामा जान प्रमोसनका लागि डिस्काउण्ट अफर दिनुपर्ने हुन्छ ।’

नेपालमा भने सबै प्रकारका सेवाहरु देशभर एकसाथ सुरु गर्ने उनको योजना छ । ‘मले नेपाललाई नै पहिलो प्राथमिकता राखेर यो एप बनाएको हुँ ।

कोभिडले गर्दा नेपाल बन्द अवस्थामा रहेकाले हाललाई अस्ट्रेलियाबाट यसको सुरुवात गरेका छौं ।’

स्प्रिङ डे प्रालि नामक सफ्टवेयर कम्पनीमा एप डेभलपरको रुपमा कार्यरत प्रकाश डेढ वर्ष अघि त्यहाँको जागिर छोडेरै यो एपको विकासका रातदिन लागि परेका छन् ।

छ वर्ष अघि अस्ट्रेलिया पुगेका उनी दुई वर्ष यता उक्त कम्पनीमा कार्यरत थिए ।

काम राम्रै थियो । तलव पनि एकै पटक ५० प्रतिशतले बृद्धि भएको थियो । कुनै समस्या नभए पनि आफ्नो मनमा पलाएको सोँचलाई आकार दिन उनले खाइपाइ आएको जागिर छोडेर जोखिम मोल्न तयार भए ।

एप डेभलपमेन्टमा मात्रै उनको करिब एक करोड ३० लाख रुपैयाँ खर्च भइसकेको छ ।

एपको विकास आफू एक्लैले गरे पनि अहिले उनले टिम समेत तयार पारिसकेका छन् । एपले स्वचालित रुपमा काम गर्न भए पनि व्यवसायिक रुपमा उतार्न टिम बनाइएको उनको भनाई छ ।

‘अहिले नेपालमा हामीसँग पाँच जनाको टिम छ । यहाँ पनि मान्छे राख्नुपर्ने अवस्था छ,’ उनले सुनाए ।

मार्केटिङ सुरु गरेको दुई सातामै अस्ट्रेलियामा थुप्रैले एपमा रजिस्टर गरिसकेका छन् । आफूलाई मन लागेको बेला स्वतन्त्रपूर्वक काम गर्न सकिने भएकाले यसमा धेरैले रुची देखाइरहेका छन् ।

२० भदौ २०७७, शनिवार १९:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु