थप ३,१०८ जना संक्रमण पुष्टि, १५९५ कोरोना निको, २५ जनाको मृत्यु
५ साउन, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ५९५ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
नेपालमा फेरि कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।
योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार ६०७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
५ साउन २०७८, मंगलवार १६:५८ बजे प्रकाशित