काठमाडौं उपत्यकामा संक्रमण घट्दो, बाहिर बढ्दो

१० जेठ, काठमाडौं । दैनिक थपिने कोरोना संक्रमितको संख्या काठमाडौं उपत्यकामा घट्दै गर्दा बाहिर भनेको बढेको छ ।

जेठ पहिलो साताको तथ्यांकले उपत्यकामा संक्रमण दर क्रमशः घट्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण पौडेलले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार जेठ १ गते काठमाडौं उपत्यकामा २८८२ जनामा संक्रमण देखिएको छ भने साताको अन्तिम दिन जेठ ७ गते २४४७ जनामा संक्रमण देखिएको छ । संख्यात्मक हिसाबले तुलना गर्ने हो भने जेठ ३ र ६ गतेबाहेक काठमाडौं उपत्यकामा संक्रमण घटेको देखाउँछ । तथ्यांक अनुसार जेठ ३ गते ३२१३ र ३२३२ संक्रमित थपिएका छन् ।

उपत्यका भन्दा बाहिरका जिल्लामा भने संक्रमण बढ्दो छ । उपत्यका बाहिर संक्रमण बढ्नुले गाउँगाउँमा संक्रमण फैलिरहेको अवस्थालाई देखाउने डा। पौडेल बताउँछन् ।

कोरोना महामारीको दोस्रो लहरको सबैभन्दा अप्ठ्यारा साता चैत महिनाको अन्तिम सातायता देखिएको उनले बताए । ‘यी दिनहरुमा द्रुत दरमा संक्रमण बढेको देखिन्छ,’ डा। पौडेलले भने, ‘हाम्रो उपचारात्मक प्रणाली विशेष गरी अस्पतालहरु, अस्पतालका शय्याहरु, अक्सिजन, आईसीयू र भेन्टिलेटरका लागि ठूलो माग रह्यो ।’

यो समयमा दैनिक पहिचान हुने नयाँ संक्रमितको संख्या ९ हजारभन्दा बढी थियो । जेठको पहिलो साता थोरै मात्रामा परीक्षण बढ्दा पनि दैनिक ८ हजारको हाराहारीमा संक्रमण भेटिएका छन् । आइतबार भने ७ हजार ९१४ संक्रमित भेटिए ।

डा। पौडेलका अनुसार दोस्रो लहरमा युवा उमेर समूहका व्यक्तिहरु संख्यात्मक रुपमा बढी प्रभावित भएका छन् । संक्रमण भएका मध्ये धेरैलाई अक्सिजन दिएर अस्पतालमा भर्ना गर्नुपर्दा उपचार प्रणालीलाई थेग्न हम्मेहम्मे परेको उनले बताए ।

मृत्युलाई तुलना गर्दा पनि यो लहरमा पनि ६० वर्ष भन्दा कम उमेर समूहका व्यक्तिहरुको बढी मृत्यु भएको उनले बताए ।

सबैभन्दा बढी प्रभावित काठमाडौं

गत साताको तथ्यांकलाई हेर्दा सबैभन्दा बढी प्रभावित काठमाडौं जिल्ला रहेको छ । काठमाडौमा ६८ हजार ९२६ जना संक्रमित भेटिँदा रुपन्देहीमा १४ हजार ८२७ संक्रमण पुष्टि भएका छन् ।

ललितपुरमा १२९०३, बाँकेमा ११०९६, भक्तपुरमा ८१६३, मोरङमा ७९५७, कास्कीमा ७५२७, कैलालीमा ६५४५, दाङमा ६०८४ र चितवनमा ५१११ संक्रमित पुष्टि भएका छन् ।

प्रत्येक प्रदेशमा कम्तीमा एकलाख एन्टिजेन

सरकारले कोरोना परीक्षणका लागि सबै प्रदेशमा कम्तीमा एकलाख एन्टिजेन पठाउने भएको छ ।

डा। पौडेलका अनुसार प्रदेश १ मा एकलाख, प्रदेश २ मा दुई लाख, बागमती प्रदेशमा एकलाख, काठमाडौंमा थप एकला, भक्तपुर र ललितपुरमा ५०र५० हजार, लुम्बिनी प्रदेशमा दुई लाख, गण्डकी प्रदेशमा डेढ लाख, कर्णाली प्रदेशमा एकलाख ५० हजार र सुदूरपश्चिम प्रदेशमा दुई लाख एन्टिजेन पठाइने छ ।

एन्टिजेनको सही सदुपयोग र कन्ट्याक्ट ट्रेसिङ लगायतका आवश्यक पर्ने स्थानहरुमा सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालय, मेडिकल स्टार, जिल्ला जनस्वास्थ्य कार्यालयले स्थानीय तहको समन्वयमा टोलटोलमा समयमै एन्टिजेन परीक्षण गर्ने योजना रहेको उनले बताए ।

१० जेठ २०७८, सोमवार ०६:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु