असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्न मन्त्री श्रेष्ठको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक विधि प्रयोग गरी १ असारबाट नयाँ भर्ना प्रक्रिया र कक्षा सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि कार्यक्रम तर्जुमा गर्न आइतबार मन्त्रालयका उच्च कर्मचारीलाई निर्देशन दिएका हुन्।
बजेट योजना शाखाको बजेट कार्यान्वयन सम्बन्धीको बैठकमा उनले बाँकी रहेको परीक्षा छिटो सकाएर नयाँ भर्ना प्रकृया सुरु गर्न निर्देशन दिएका हुन् ।
उनले शिक्षकलाई कोरोनाको खोप लगाउन स्वास्थ्य मन्त्रालयमा पठाएर निवेदनबारे जानकारी लिन आग्रह गरेका छन् । नयाँ पाठ्यपुस्तक ढुवानीको लागि सिसिएमसीसँग पत्राचार गर्न उनले मन्त्रालयलाई निर्देशन दिएका छन् ।
कोभिड–१९ का कारण चालु शैक्षिकसत्र जेठसम्म लम्ब्याइएपछि नयाँ सत्र असार १ गतेदेखि हुने पूर्व निर्धारण गरिएकामा यस वर्षको दोस्रो लहरको कोरोना रोकथामका लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले चालु शैक्षिकसत्रमा कात्तिकदेखि मात्रै सामुदायिक विद्यालयमा राम्रोसँग पढाइ शुरु भएकाले कोर्स पूरा गरी, वार्षिक परीक्षा र परीक्षाफल प्रकाशनपछि नयाँ भर्ना गर्दा साउन–भदौ पुग्ने सक्ने भएकाले सोअनुसार गर्न सरकारलाई आग्रह गरे।
अध्यक्ष थापाले भने, ‘स्थितिको समग्र विश्लेषणविना हतारहतार असारदेखि कक्षा सञ्चालन गर्नुले निजी विद्यालयलाई मात्रै प्रोत्साहन हुन्छ। सबै सामुदायिक विद्यालयमा वैकल्पिक माध्यमको पढाए प्रभावकारी नभएको पक्षलाई पनि भुल्न हुँदैन।’
यसैबीच, शिक्षा मन्त्रालयअन्तर्गत आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाउन आज निर्देशन दिँदै मन्त्री श्रेष्ठले परिणाम देखिने गरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई आज निर्देशन दिनुभएको थियो।
बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयनका लागि कार्यविधि योजना तयार गर्न ढिला गर्न नहुने स्पष्ट गर्दै उनले आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयका विषयमा कुनै कसर बाँकी नराख्ने बताए। कार्यान्वयनमा हुनेगरी काम अघि बढाउन निर्देशन दिए। कार्यक्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताए।
आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुनःनिर्माण गर्ने सरकारको योजना छ। यस्तै विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने, सहुलियत दरमा २५ लाखसम्म ऋण दिने, कक्षा ९ सम्म रङ्गीन पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका कार्यक्रम बजेटमा समावेश छन्।
२३ जेठ २०७८, आइतवार १९:२८ बजे प्रकाशित