६० पूर्णाङ्कको परीक्षालाई ८ घण्टा, एक महिनामै सेमेष्टर सक्ने
विश्वविद्यालय तहमा तपाईं हामीले दिने परीक्षा सामान्यतया कति घण्टाको हुन्छ रु सहजै उत्तर आउँछ, बढीमा तीन–चार घण्टा । हो, तपाईं–हामीले १०० पूर्णाङ्कको परीक्षामा उत्तरपुस्तिका बुझाइसक्ने समय प्रायः यस्तै हुन्छ ।
तर मध्यपश्चिम विश्वविद्यालय ९मपविवि०को कुरा बेग्लै छ । विश्वविद्यालयले सातौं सेमेस्टरका विद्यार्थीहरुको ६० पूर्णाङ्कको परीक्षाको समय ८ घण्टा तोकेको छ ।
मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको परीक्षा सम्बन्धी निर्देशिकामा उल्लेख भएअनुसार इन्जिनियरिङतर्फको ६० पूर्णाङ्कको परीक्षा बिहान ८ बजेबाट सुरु हुने छ र प्रश्नका उत्तर लेखेर अपराह्न ४ बजेभित्र बुझाइसक्नुपर्ने छ । ६० पूर्णाङ्कको सो परीक्षामा १० नम्बरको बहुबस्तुगत प्रश्नसमेत समाबेस हुन्छ ।
मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख डा।आनन्दप्रसाद सुवेदीले कर्णाली प्रदेशको भौगोलिक विकटता, इन्टरनेट र विद्युतको अवस्थालाई ध्यानमा राखी ८ घण्टाको समय तोकिएको बताए । ‘विद्यार्थीले परीक्षा हलमा परीक्षा दिँदा चार घण्टाको समय लाग्छ । थप चार घण्टा इमेल गर्ने समय थपेका छौं,’ सुवेदीले भने ।
प्रयोगात्मक परीक्षाविना अंक दिने खतरा
यसैगरी विश्वविद्यालयले गत भदौ ३० गते निकालेको एक सूचनामा आठौं सेमेष्टरका सबै परीक्षाहरु मंसिर मसान्तसम्म सकाउनुपर्ने उल्लेख छ । जबकी सातौं सेमेस्टरको परीक्षा असोज १७ गतेबाट सुरु गरेर कात्तिक ६ गते सकिने तालिका विश्वविद्यालय आफैंले निकालेको छ ।
मध्यपश्चिम विश्वविद्यालयका एक विद्यार्थीले भने, ‘सातौं सेमेष्टरको परीक्षा नै कात्तिकसम्म हुने तालिका छ । आठौं समेष्टर मंसिरमा सक्ने भनिएको छ । पाठ्यक्रममा उल्लेख भएअनुसार आठौं सेमेष्टरमा इन्जिनियरिङतर्फ प्रोजेक्ट वर्क र तीन महिने इन्टर्नसीपसमेत गर्नुपर्छ । एक महिनामै यी सबै कसरी सक्ने भनेर सोचेको होला विश्वविद्यालयले ।’
अहिले कोरोना संक्रमणको महामारी छ जसका कारण विद्यालय, विश्वविद्यालय तहका परीक्षा रोकिएका छन् । कक्षा कोठामा भौतिकरुपमा उपस्थित भएर परीक्षा लिने अवस्था छैन । त्यसैले शैक्षिक सत्र खेर जान नदिन भर्चुअल विधिबाट सीमित समय अवधिभित्र परीक्षा सकाउनुपर्ने बाध्यता छ । तर यो बाध्यात्मक अवस्थाको बेलामा प्राविधिक विषयमा समेत जथाभाबी गरेको भन्दै मध्यपश्चिम विश्वविद्यालयविरुद्ध उजुरी परेको छ ।
विश्वविद्यालयले विद्यार्थीलाई आठ–आठ घण्टा परीक्षा समय तोकेर चिट चोर्न अनुकूल बनाइदिएको र प्रयोगात्मक परीक्षा नै नगराई जथाभावी अंक दिएर आठौं सेमेष्टर पनि सकाउने प्रपन्च रचिएको भन्दै नेपाल इन्जिनियर्स एशोसियसनको ध्यानाकर्षण गराइएको छ ।
इन्जिनियरहरुको छाता संस्थालाई इमेलमार्फत् प्राप्त एक पत्रमा मध्यपश्चिम विश्वविद्यालय इन्जिनियरिङतर्फका मूल्य मान्यतालाई ध्यान नदिई अगाडि बढ्न खोजेको भन्दै ध्यानाकर्षण गराइएको छ । ‘कोभिडले आक्रान्त पारिराखेको बेला वैकल्पिक उपायको नाममा यस्ता क्रियाकलाप हुनु इन्जिनियरिङ समुदायकै लागि लज्जाको विषय हो,’ ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘‘अर्कोतर्फ प्रयोगात्मक कक्षा नै नगराई प्रयोगात्मक विषयमा जथाभावी अंक दिने खतरा पनि उत्तिकै देखिन्छ ।’
५ असोज २०७७, सोमवार ०८:४३ बजे प्रकाशित





