केपी ओली प्रतिष्ठानको नाममा रहेको ७० रोपनी जग्गा जफत
शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिष्ठानको नाममा रहेको झण्डै ७० रोपनी जग्गा जफत गरेको छ ।
ओलीले प्रतिष्ठान खोली पत्नी राधिका शाक्यलाई अध्यक्ष बनाएर तेह्रथुममा ट्रष्टको नाममा हदबन्दीभन्दा बढी जग्गा राखेको पाइएपछि त्यसलाई सरकारले जफत गरेको हो । प्रचलित कानुनअनुसार पहाडमा ७५ रोपनीभन्दा बढी जग्गा एकै व्यक्ति वा संस्थाको स्वामित्वमा राख्न पाईंदैन ।
तर ओलीले शक्तिको आडमा १ सय ४३ रोपनी १४ आना एक पैसा जग्गा खरिद गरेको भेटिएसँगै हदबन्दीभन्दा बढी जग्गा सरकारको नाममा तानिएको हो ।
ओलीको नाममा खोलिएको उक्त ट्रष्टका नाममा तेह्रथुमको आठराई पोखरी वडा नम्बर ४ मा कित्ता नम्बर २७३, ५१९, ५२०, ५२१, ५२३ र ५२४ र वडा नम्बर ५ मा ६१३, ६१६, ६१७, ६१८, ६२१ र ६२४ मा गरी कुल ६९ रोपनी १० आना १ पैसा जग्गा हदबन्दी भन्दाबढी भेटिएको हो । सरकारले हदबन्दी भन्दाबढी जग्गा जफत गरी ओली ट्रष्टको नाममा रहेको उक्त जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको हो ।
सरकारले ६९ रोपनी जग्गा जफत गरेपछि अब त्यहाँ ओली प्रतिष्ठानको नाममा ७४ रोपनी जग्गा बाँकी रहेको मन्त्रालयले जनाएको छ ।जन आस्थामा समाचार छ ।
२८ साउन २०७८, बिहीवार ०६:१७ बजे प्रकाशित