अब समाजसेवा गर्ने सरिता गिरीको इच्छा
सरिता गिरीलाई सांसद पदबाट हटाउने जनता समाजवादी पार्टीको निर्णय कार्यान्वयन रोक्न सर्वोच्चले अस्वीकार गरिदिएको छ ।
सर्वोच्चले गिरीलाई हटाउने पार्टीको निर्णय विधिसम्मत देखिएको भन्दै अन्तरिम आदेशमार्फत् निर्णय कार्यान्वयन यथास्थितिमा राख्नुपर्ने अवस्था नरहेको भनेको छ ।
अदालतको यस्तो आदेशसँगै सांसद पद जोगाउने गिरीको प्रयास यो मुद्दाको अन्तिम फैसला नभएसम्मका लागि टरेको छ । अब यो निवेदनको अन्तिम टुंगो लाग्दा अदालतले पार्टीको निर्णयलाई अवैध ठहर गरेमा मात्र गिरी सांसद पदमा फर्कन पाउनेछिन् ।
सर्वोच्चबाट जेजस्तो आदेश आए पनि आफू अब पार्टीगत राजनीतिबाट केही समय विश्राम लिने मनस्थितिमा पुगेको उनले बताएकी छन् ।
थप गिरीकै शब्दमा
पार्टीले मलाई सांसद पदबाट हटाएको विषयलाई गैरकानुनी भनेर मैले सर्वोच्चमा जुन निवेदन दिएकी थिएँ, उक्त निवेदनमा अन्तरिम आदेश भएको छैन । कानुन मेरै पक्षमा हुनुपर्ने हो । लिखितमा के हुन्छ, भोलि हेरौंला । त्यसैले अदालतको विषयमा म धेरै टिप्पणी गर्न चाहन्नँ ।
मैले दल त्याग गरेकी होइन । म निस्कासित भएकी हुँ । जसपामा धेरै नेता छन् । मलाई हटाउँदा १ पद खाली हुन्छ । मलाई राख्दा संसदमा त छँदै छ, पार्टीमा समेत १ पद दिनुपर्ने हुन्छ । । सम्पूर्ण कानुन मेरो पक्षमा छ तर एक व्यक्तिविरुद्ध पूरै राज्य लागेपछि के नै लाग्दो रहेछ र १ धेरै कुरा यसरी बुझौँ । जे होस्, अब मलाई विश्वास गर्ने जनताका पक्षमा बोल्छु, सक्रिय हुन्छु ।
जबसम्म मेरा साथमा जनता छन्, म एक्लो छैन । राजनीतिमा उचारचढाव त आइहाल्छ नि १ हिजो साथ दिनेले आज छोड्छन्, आज साथ छोडेकाहरू भोलि फर्केर आउँछन् । तर, म आफ्नो विचार र अडानप्रति स्पष्ट, दृढ छु ।
तत्काल म कुनै पार्टी खोल्न वा आवद्ध हुनतिर लाग्दिनँ । सन् १८१६ को सन्धिको आधारमा अब मधेसको हक, हित र अधिकारको बारेमा पहिला म एउटा सामाजिक संवाद सुरू गर्छु । म सामाजिक काममा अभ्यस्त हुन्छु ।
माहोल बनाउँदै लैजाने हो । सबै, सधैँ परिस्थिति एउटै हुँदैन । मैले मधेसका जनताको भावना आफूमार्फत अभिव्यक्त गर्दै आएकी छु । मधेसका जनताले मलाई साथ दिनेछन् ।
धेरै कुरा किन गर्नु, संसदमा मैले जे भनेकी थिएँ, उपेन्द्रजीसँग सरसल्लाह गरेरै भनेकी हुँ । तर, पछि मलाई उहाँले सहयोग गर्नुभएन । जबकि, उहाँको पार्टी विभाजन हुनबाट मैले जोगाएकी थिएँ ।
मैले रहर र लहरमा बोलेकी होइन । कसैले मेरा तर्कलाई गम्भीरतापूर्वक विचार गर्यो भने यो छलफल र बहसको विषय पक्का हो । गजेन्द्रबाबुको पालायता मधेसको हालत दिनप्रतिदिन बिग्रँदै गएको छ । यसका विविध कारण छन्, जुन आगामी दिनमा म उजागर गर्दै लैजाने छु । मैले पछुताउनुपर्ने कुनै गतिविधि गरेकी छैन ।
२९ साउन २०७७, बिहीवार १४:०० बजे प्रकाशित





