चुनाव ढिला गर्ने ट्रम्पको सुझाव उनकै दलका नेताहरूद्वारा खारेज

रिपब्लिकन वरिष्ठ नेताहरूले नोभेम्बर महिनामा हुने राष्ट्रपतीय चुनाव ढिला गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको सुझाव खारेज गरिदिएका छन्।

ट्रम्पले निर्वाचनमा अनियमितता हुन सक्ने भन्दै ढिलाइ गर्नुपर्ने बताएपछि उनीहरूको प्रतिक्रिया आएको हो।

सिनेटमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच मककोनेल र हाउस अफ रेप्रेजेन्टेटिभ्सका नेता केभिन मकार्थी दुवैले राष्ट्रपति ट्रम्पको सुझावलाई खारेज गरे।

चुनाव स्थगित गर्न सक्ने अधिकार राष्ट्रपति ट्रम्पमा छैन। चुनाव सार्ने भए कङ्ग्रेसले त्यसलाई अनुमोदन गर्नुपर्ने हुन्छ।

यसअघि राष्ट्रपति ट्रम्पले हुलाकमार्फत्‌ गरिने बढ्दो मतदानले धाँधली निम्त्याउने सक्ने र गलत नतिजा आउन सक्ने बताएका थिए।

मानिसहरूले ूठीक र सुरक्षित ढङ्गलेू मतदान गर्न सक्ने कुराको सुनिश्चतता नभएसम्मका लागि चुनाव सार्ने विचार ट्रम्पले व्यक्त गरेका थिए।

ह्वाइट हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘म त्रुटिपूर्ण चुनाव भएको हेर्न चाहँदिनँ। यदि यो चुनाव भयो भने इतिहासकै सबैभन्दा धाँधलीपूर्ण हुनेछ।’

राष्ट्रपति ट्रम्पका दाबीहरूलाई बल पुर्‍याउने एकदमै न्यून प्रमाण छ। तर लामो समयदेखि उनी हुलाकमार्फत् गरिने मतदानविरुद्ध उभिँदै आएका छन्।

कोरोनाभाइरस महामारीबीच अमेरिकी राज्यहरू जनस्वास्थ्यलाई ध्यानमा राख्दै हुलाकमार्फत् गरिने मतदानलाई अझ सहज बनाउन चाहन्छन्।

सिनेटर मककोनेलले इतिहासमा हालसम्म राष्ट्रपतीय चुनावमा ढिलाइ नगरिएको बताए।

 

१८ साउन २०७७, आइतवार ०५:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु