प्रधानमन्त्रीलाई नारायणकाजीको जवाफ – स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा नतानौं

२१ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह गरेका छन् ।

राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुटो प्रचार गरिएको उनले बताएका छन्
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र गरिएको सुनाएका थिए ।

त्यसैतर्फ लक्षित गर्दै नेकपा प्रवक्ता श्रेष्ठले सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रपतिको विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुटा प्रचार कसैले नगरौं । राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं ।’

राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो भन्दै श्रेष्ठले यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतान्न आग्रह गरेका छन् । उनले महाअभियोग ल्याउने प्रस्तावको झुठो प्रचारमा राष्ट्रपति स्वयंको पनि ध्यान जाने विश्वास व्यक्त गरेका छन् ।

२१ असार २०७७, आइतवार ०२:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु