संविधान संशोधन खारेज गर्न सरिता गिरीको प्रस्ताव दर्ता, फिर्ता लिन पार्टीको निर्देशन, नत्र कारबाही

जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक नै खारेज हुनुपर्ने भनी संशोधन दर्ता गराएकी छन् ।

गिरीले बुधबार संसद सचिवालयमा दिएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन भनिएको छ । दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्नेगरी सरकारले विधेयक प्रस्तुत गरेको छ ।

लगत्तै, समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको उक्त प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।

पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।

पार्टीले सो प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा समेटेर निशान छाप संशोधन गर्न पेश गरेको संविधान संशोधन विधेयक खारेज गर्न माग गर्दै गिरीले संसदमा अर्काे संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन् । स्रोत र प्रमाण नपुगेको भन्दै उनले प्रस्ताव खारेज गर्न माग गरेकी छन् ।

उनको सो प्रस्तावको तीव्र विरोध भइरहेको बेलामा पार्टीले भने यस्तो चेतावनी दिएको हो ।

मंगलबार मात्रै संविधान संशोधनसम्बन्धी विषयमा सबै दलले सैद्धान्तिक सहमति जनाएका थिए ।

तर गिरीले भने एकल रुपमा संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

२८ जेठ २०७७, बुधवार १४:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु