छुवाछुतलाई सरकारले किञ्चित सहने छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुतजस्तो मानव हितविरुद्धका गतिविधिलाई सरकारले किञ्चित नसहने बताएका छन् ।

छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले अमानवीय हिंसाका घटनाहरुको छानविन गरी दोषीहरुलाई कारवाही गर्न राज्य किञ्चित पछि पर्ने बताए ।

प्रधानमन्त्रीको सम्वोधनमा भनिएको छ, ‘नेपाल सरकारले सामाजिक बहिष्करण, छुवाछुत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ । अर्थात् मानव हितविरुद्धका यस्ता गतिविधिलाई सरकारले किञ्चित सहने छैन । यस्ता अमानवीय हिंसाका घटनाहरुको छानविन गरी दोषीहरुलाई कारवाही गर्न राज्य किञ्चित पछि पर्ने छैन ।’

छुवाछुतजस्तो जघन्य हिंसामा शून्य सहनशीलता अपनाइने उनले बताएका छन् । छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई कानूनी दायरामा ल्याउन सरकारले सम्झौता नगर्ने प्रधानमन्त्रीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले अहिले पनि कथित दलितको हीन पहिचान व्यहोर्दै छुवाछुतमा आधारित जघन्य अपराधको शिकार हुनुपरेका घटनाहरु भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

‘युगौं अघिदेखिको कुप्रथाबाट प्रभावित सामाजिक सोचमा रहेको असंवेदनशीलता र गरिवीका कारण हाम्रा दिदीबहिनी दाजुभाइहरु अहिले पनि कथित दलितको हीन पहिचान ब्यहोर्दै छुवाछुतमा आधारित जघन्य अपराधको शिकार हुनु परेका घटना हामी देख्दै आएका छौं प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ ।

मानव सभ्यताको कलङ्क र सभ्य, लोकतान्त्रिक तथा सम्मानजनक जीवन जिउन पाउने मानव अधिकारको पालनामा देखिएका बाधाहरुलाई सरकारले हटाउने बताउँदै प्रधानमन्त्रीले अगाडि भनेका छन्, ‘छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानूनी दायरामा ल्याउनेछ्र । त्यस्ता अपराधीलाई कडाभन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्नेछैन ।’

२१ जेठ २०७७, बुधवार ०३:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु