संसद सुब्बाको प्रस्ताव- केही नलागे भारतसँग युद्ध गर्ने हो

काठमाडौं । भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्ता गर्न अनिच्छा प्रकट गरेको टिप्पणी भइरहेका बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा सांसद विजय सुब्बाले केही नलागे भारतसँग युद्ध गर्नुपर्ने बताएका छन् ।

फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् ।

भारतसँगको सीमा विवादका सन्दर्भमा सबैभन्दा पहिले कुटनैतिक समाधान खोज्ने, कुटनीतिक माध्यमबाट समाधान ननिस्किए दोस्रोमा सीमा विवादलाई अन्तरा​​ष्ट्रियकरण गर्नुपर्ने उनको भनाई छ ।

यि दुबै प्रयास असफल भए तेस्रो विकल्प भनेको भारतसँग युद्ध नै रहेको उनको भनाई छ ।

भारतसँग युद्ध नै भयो भने भारतले आफ्ना विरोधी र हेपेका पाकिस्तानी, काश्मिरी आदिलाई मार्न गोर्खाली सेनाको प्रयोग गरे जस्तै नेपालीलाई मार्न पनि गोर्खाली सेना पठाउँदा उनीहरु नआउने उल्लेख गरेका छन् ।

‘हाम्रा पुर्खाले ठूलो देश बेलायतसँग लडेकै हैनन् ? थाहा छैन ? भारतसँग युद्ध नै भयो भने भारतले आफ्ना विरोधी र हेपेका पाकिस्तानी, काश्मिरी आदिलाई मार्न गोर्खाली सेनाको प्रयोग गरे जस्तै नेपालीलाई मार्न पनि गोर्खाली सेना पठाउँदा त नआउलान् नि आफ्नो बाबु आमा, दाजुभाइ दिदी बहिनी मार्नलाई’ सांसद सुब्बाले लेखेका छन् ।

कतिपयले भारतसँग युद्ध चाहिँ नगर्ने, भारत ठूलो शक्तिशाली देश हो भन्ने गरेको भन्दै उनले प्रश्न गरेका छन्, ‘अनि के हेपिइरहनुपर्छ भनेको हो ? त्यसो भन्नेले किन सीमा बचाउको कुरा गर्नु बेक्कारमा ।’

बेलायतले गोरखाली बहादुर भन्दै नेपालीलाई फुर्क्याएर जहाँ जहाँ मान्छे मार्न पठायो त्यहाँ त्यहाँ वेलायतको लागि आतङ्क मच्चायो र गोरखाली भनेका किलर हुन्छन् भन्ने परिचय बनाउँदै हिँडेको उल्लेख गर्दै उनले नेपालीहरु सम्राज्यवादी र विस्तारवादी मुलुकका लागि बहादुर र ती देशबाट पीडितहरूका लागि किलर भएको भनेर पूर्व गोरखा सैनिकको भनाई रहेको बताए ।

आफ्नो भनाईलाई उग्र कुरा भनिएला भन्दै उनले उदाहरण दिएका छन्,

‘कोइलाडि तिलाठी, सप्तरीका देवनारायण यादव र कञ्चनपुरका सीमा शहीद गोविन्द गौतमको देशको लागि निडर लडाइँबाट पनि सिकौं । अहिलेको देशभक्तिपूर्ण राष्ट्रिय सहमतिलाई पनि बुझौं र हिम्मत गरौं ।’

२ जेठ २०७७, शुक्रवार ०७:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु