सांसद यादव प्रम ओलीलाई नै भेट्न भनेर आएका हुन : सर्वेन्द्र खनाल
काठमाडौँ । समाजवादी पार्टीका नेता एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादव अपहरणमा परेको भन्दै बुधबार सामाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले फेसबुक स्टाटस लेखेर प्रधानमन्त्री केपी शर्माका ओलीले राज्यमन्त्री यादवको अपरहण गरेको आरोप लगाए ।
बुधबार जनकपुरबाट हिँडाइएका यादवलाई काठमाडौंबाट नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आईजीपी सर्वेन्द्र खनालले अपहरण गरेर काठमाडौं ल्याएको भन्ने सूचना बाहिरियो।
पूर्व आईजीपी खनालले आफू जनकपुर गएको स्वीकारे। उनले बुधबारयताको घटनाक्रम यसरी बताए
मंगलबार घर फर्किन नपाएर अलपत्र परेका मान्छेलाई कसरी उद्धार गर्ने भनेर म भक्तपुरमा सांसद महेश बस्नेत र किसान श्रेष्ठसँग गफ गरिरहेको थिएँ। अलपत्र परेकालाई निस्शुल्क खाना खुवाउने कुरा पनि भइरहेको थियो।
त्यहीबेला जनकपुर जाने र सांसद सुरेन्द्र यादवसँग कुरा गर्ने भन्ने कुरा आयो। म जनकपुरमा एसपी भएर रहँदा नै मेरो चिनजान सांसद उमाशंकर अरगरियासँग थियो। उनको सांसद महेशजीसँग पनि कुराकानी भइरहेको रहेछ। त्यही बेला मसँग पनि कुरा भयो। उहाँले नै मसँग सुरेन्द्रलाई काठमाडौं ल्याउनुपर्ने, लकडाउन भयो भन्ने कुरा गर्नुभयो। अरगरियाले भनेपछि मैले पनि सासंद सुरेन्द्रसँग कुरा गरें। उनले आफू लकडाउनमा परेको र काठमाडौं आउनुपर्ने भएको कुरा सुनाए। उनी र महेशबीच पनि कुरा भयो।
महेशहरुले सांसद सुरेन्द्रसँग भएको कुराबारे बालुवाटारमा पनि जानकारी गराए। ुऊ आउने खालको छ भने एप्रोच गर्दा हुन्छु भन्ने खालको कुरा आयो। यो बिषयमा कसले डिल गरिरहेको छ भन्ने थाहा भएन। तर मसँग कुरा गर्दा भने सुरेन्द्रले राम्रै कुरा गरे।
महेश र किसानले पनि जनकपुर जाने र कुरा गर्ने भनेपछि हामी मंगलबार त्यस्तै ४ बजेतिर हिँड्यौं। जाम पनि खोलखाल गरेर हामी बीपी हाइवे हुँंदै बर्दिवास पुग्दा रात परिसकेको थियो। हामी त्यहींको गौतम होटलमा बस्यौं। म खासमा त्यता जाने भन्ने नै थिएन। बाहिर जाँदा चाहिने कपडा पनि मैले बोकेको थिइनँ। लगाएकै कपडामा रात काटें।
हिजो बुधबार बिहान करिब नौ बजेतिर हामी यादवको घर पुग्यौं। त्यहाँ के के राजनीतिक गफ पनि भयो। हामीले खाजा खायौं। मज्जाले भात पनि खायौं। अनि तीन बजेतिर हामी फर्कियौं। हामी आफ्नै गाडीमा थियौं। जाने विषयमा उनले कुरा गरे। राजनीतिक तहमा पनि कुरा भयो। उनको ईच्छा भने यता उपेन्द्र यादवसँग पनि कुरा मिलेन त्यही भएर भन्ने खालको थियो। उनको कुरा दोधारेखालको देखिन्थ्यो। पछि आश्वासन मिलेपछि उनी तयार भए क्यार। भित्रको गोप्य कुरा भने मलाई थाहा भएन।
११ वैशाख २०७७, बिहीवार १३:४० बजे प्रकाशित













