१२ भारतीय सुटुक्क मस्जिद आइ बसेका थिए, कोरोना भेटिएपछि मस्जिद सिल

काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस कोभिड १९ का संक्रमित थपिएका छन् ।

उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु भारतीय हुन् । उदयपुरका १२ संक्रमित सबै पुरूष हुन् । उनीहरू ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका छन् ।

संक्रमितहरु उदयपुर नगरपालिका ३ स्थित भुल्केमा रहेको मस्जिदमा भेटिएका थिए ।

दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट ४ जना नेपाली भेटेपछि परीक्षण गरिएको थियो ।

मस्जिद सिल

उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केस्थित मस्जिदमा बस्दै आएका १२ भारतीयमा कोरोना संक्रमण पुष्टि भएपछि मस्जिद सिल गर्ने तयारी भएको छ ।

पर्सा जिल्लाको छपकैयाँस्थित मस्जिदमा बसेका तीन भारतीय धर्मगुरुमा संक्रमण देखिएपछि उनीहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी र्‍यापिड टेस्ट गरिएको थियो । उनीहरुको स्वाब कोशी अञ्चल अस्पतालमा परीक्षण गरिएको थियो ।

संक्रमण पुष्टि भएपछि मस्जिद र आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीले मस्जिद र आसपासको क्षेत्रमा हिँडडुलमा रोक लगाएका छन् । यो क्षेत्रलाई सिल गर्ने र संक्रमितलाई कोशी अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले बताए ।

कोरोना पोजेटिभ देखिएका १२ भारतीय विराटनगरबाट सप्तरी हुँदै उदयपुर आएको प्रारम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी पहाडीले बताए ।

५ वैशाख २०७७, शुक्रवार १५:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु