एमसीसी प्रतिवेदन बुझउँदा मुस्कुराए भीम रावल, गजक्क देखिए प्रम ओली

९ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको कार्यदलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्झौतासम्बन्धी अध्ययन प्रतिवेदन पार्टी नेतृत्व अध्यक्ष द्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको छ । एमसीसी प्रतिवेदन बुझाउँदा कार्यदल सदस्य भीम रावल मुस्कुराएका देखिन्छन भने, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली गजक्क देखिए । कार्यदल सदस्य झलनाथ खनालले प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरे ।

कार्यदलले एमसीसी नसच्याई संसदबाट अनुमोदन नगर्न पार्टी नेतृत्वलाई सुझाव दिएको छ । कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्वय ओली र प्रचण्डलाई बालुवाटारमा संयुक्तरुपमा भेटेर प्रतिवेदन बुझाएको हो ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीमा चर्को विवाद भएपछि माघ १९ मा नेकपा केन्द्रीय कमिटी बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको थियो । वरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलमा स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भीम रावल सदस्य थिए ।

प्रतिवेदनमा एमसीसी सम्झौता नसच्याई अनुमोदन नगर्न सर्वसम्मत रुपमा सुझाव दिइएको कार्यदल संयोजक झलनाथ खनालले जानकारी दिए ।

प्रतिवेदनको निश्कर्ष सुनाउँदै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने, ‘जम्मै कुराहरुको अध्ययन गरिसकेपछि हामीचाहिँ के निश्कर्षमा पुग्यौं भने यसलाई नसच्याइकन र सुधार नगरिकन यसलाई लागू गर्नुहुँदैन ।’

यो निश्कर्ष सर्वसम्मत हो कि कार्यदलका तीनजना मध्ये कसैको असहमति पनि रह्यो रु भन्ने प्रश्नमा संयोजक खनालले भने, ‘एकदम सर्वसम्मत निश्कर्ष ।’

‘सार्वजनिक नभएका अरु पनि सहायक सम्झौताहरु रहेछन्’

कार्यदलका संयोजक खनालले एमसीसी सम्झौता सम्बन्धी डकुमेन्टहरुको अध्ययन गर्दा अहिलेसम्म सार्वजनिक नभएका अरु पनि १४÷१५ वटा सहायक सम्झौताहरु फेला परेको बताए ।

‘हामीले २० दिन लगाएर यो प्रतिवेदन तयार पार्‍यौं । हामीले गम्भीररुपले सबै डकुमेन्टहरु अध्ययन गर्‍यौं । दर्जनौं डकुमेन्टहरु रहेछन् । एमसीसीको मात्रै होइन, हामीले त्यसका सहायक सम्झौताहरु पनि हेर्‍यौं,’ खनालले भने, ‘कार्यान्वयन सम्झौताका नाममा अरु १४र१५ वटा सम्झौतासमेत गरेका रहेछन् । ती सबै कुराहरु सार्वजनिकरुपमा आएका पनि थिएनन् ।’

९ फागुन २०७६, शुक्रवार १५:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु