स्वास्थानीको पाना च्यात्ने कुरा नगरौं : मुस्लिम सांसद मुलमान

६ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद अत्तहरकमाल मुसलमानले सदनभित्र धर्मको बारेमा विवाद र बहस गर्न नहुने बताएका छन ।

मुलमान समुदायको तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने सांसद मुलमानले स्वास्थानीको पाना च्यात्नुपर्ने भन्दै केही दिन अघि नेकपाका सांसद यसोदा सुवेदी गुरुङले दिएको अभिव्यक्तिको विरोध गरे ।

‘कुनै पनि धर्म सम्प्रदायको विषयमा सदनभित्र अनावश्यक विवाद र बहसहरु नगरौं । धर्महरुको बारेमा टिकाटिप्पणी गर्दा सम्मानित सदनको गरिमा कहीँ न कहीँ ओझेलमा परिरहेको छ’ मंगलबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद मुसलमानले भने ।

केही दिन अघि नेकपाकी सांसद गुरुङले धार्मिक अन्धविश्वास भत्काउन र छाउजस्तो परम्परा र संस्कारलाई मजबुत पार्ने स्वस्थानी ब्रतकथा र ऋषिपञ्चमी ब्रत कथाको पानाहरु च्यात्नुपर्ने बतएकी थिइन ।

यसतर्फ लक्षित गर्दै सांसद मुसलमानले भने, ‘हिन्दु धर्महरुको बाहुल्यता भएको यो देशमा यदि श्रि स्वस्थानी माताका गाथाहरुको किताब च्यातिने विषय उठ्छ । ऋषि पञ्चमीको महत्वपूर्ण वर्तको बारेमा विवाद खडा हुन्छ भने अर्को धर्मालम्बीहरुले त्यसको बारेमा कुरा उठाउनु जायज हुन्छ ।’

एकले अर्कोलाई दुखमा साथ दिनु नै धर्म संस्कृति भएको पनि उनले बताए ।

‘हिन्दुलाई परेको पिडामा मुस्लिम रुनु र मुस्लिमलाई परेको पिडामा हिन्दुहरु अगाडि आउनु नै हाम्रो धर्म र संस्कृति हो र राष्ट्रकाृे समृद्धि हो’ सांसद मुसलमानले भने ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद उमा रेग्मीले सरकारको दुई वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको बताएकी छन् ।

दुई वर्षको समयमा सरकारले कुनै ठोस कार्यक्रम देखाउन नसकेको भन्दै उनले सरकारको प्रशंसा गरेर समाचार नछापेको भन्दै सञ्‍चारमाध्यमलाई थर्काउने काम भएको बताइन् । आफैं बालुवाटारमा बाँसुरी बजाउने अनि किन छाप्यौ भनेर थर्काउने भन्दै उनले प्रश्‍न गरिन् ।

सांसद अमरेशकुमार सिंहले उखु किसानहरुले भुक्तानी नपाएको कुरा पटक पटक उठे पनि अझसम्म भुक्तानी पाउन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराए । उद्योग मन्त्रालयमा भएको सहमति अझै पनि कार्यान्वयन भएको भन्दै उनले सरकार किसान र जनता को हो कि रु विचौलिया र दलालको को हो रु भन्दै प्रश्‍न गरे । उनले उनले चाँडै किसानहरुको भुक्तानी दिनका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद अमृता थापाले सरकारले छाउगोठ भत्काउने अभियान सुरु गरेकोप्रति आभार व्यक्त गर्दै छाउप्रथा, बोक्सीप्रथा लगायतका महिला हिंसा भेदभावहरुको भित्री कारण खोजेर मनको गोठ भत्काउने अभियान सुरु गर्नुपर्ने बताइन् । उनले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा समाचारमा आएपछि मात्रै सरकारले थाहा पाउने गरेको भन्दै दुःख समेत व्यक्त गरिन् ।

सांसद इन्दुकुमारी शर्माले सरकारी कार्यालयमा माथिल्लो दर्जाका कर्मचारीले तल्लो दर्जाका कर्मचारीहरुलाई गर्ने व्यवहार सामन्ती सरकारको जस्तो भएको टिप्पणी गरिन् । आफू मातहतका कर्मचारीहरुलाई हेपाहा प्रवृतिका भाषा प्रयोग नगर्न उनले आग्रह गरिन् ।

सांसद कलिला खातुनले काठमाडौं महानगरपालिका २२ सुन्धारा छेउमा रहेको सरकारी जग्गा १ सय वर्षदेखि मुस्लिम समुदायले प्रयोग आएकोमा अहिले त्यहााको जग्गा विचौलियाहरुले व्यक्तिको नाममा दर्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । २००२ सालमा मस्जिद बनाएर मुस्लिम समुदायले प्रयोग गरिरहेको जग्गा अहिले कसरी व्यक्तिको नाममा आयो भन्दै उनले प्रश्न समेत गरिन् ।

सांसद गौरीशंकर चौधरीले टीकापुरबाट निर्वाचित सांसद रेशम चौधरी लगायत थारु आन्दोलनका क्रममा जेल परेकाहरुको रिहाइको माग गरे । उनले टीकापुर घटनाका विषयमा गठित लाल आयोगको प्रतिवेदन माग गर्दै चौधरी लगायत अन्यमाथि लागाइएका झुठा मुद्दाहरु फिर्ता गरि रिहाइको माग गरे ।

६ फागुन २०७६, मंगलवार १३:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु