प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी दिएका छन्।

लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता र मानवअधिकारलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउँदै आएका पन्थले पार्टी संगठनदेखि संघीय संसदसम्मको अनुभवलाई अब पार्टीको नीति, संगठन र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउन उपयोग गर्ने बताएका छन्।

राष्ट्रियसभा सदस्य तथा दिगो विकास र सुशासनसम्बन्धी संसदीय समितिको नेतृत्वमा रहँदा पन्थले विधायन, संसदीय अनुगमन, संविधान कार्यान्वयन, नागरिक अधिकार, सामाजिक न्याय, संघीयता, दिगो विकास र सुशासनका क्षेत्रमा काम गरेका थिए। नीति निर्माणदेखि कार्यान्वयनसम्मको अनुभवलाई पार्टीको नीति र संगठनसँग जोड्दै नागरिकका सवाललाई अझ प्रभावकारी रूपमा उठाउने उनको प्रतिबद्धता छ।

अपाङ्गता अधिकार, समान अवसर र अर्थपूर्ण सहभागिताका क्षेत्रमा लामो समयदेखि सक्रिय पन्थले राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको नेतृत्वसमेत गरेका छन्। अपाङ्गता भएका व्यक्तिको अधिकारलाई केवल प्रतिनिधित्वमा होइन, निर्णय प्रक्रियामै अर्थपूर्ण सहभागिताका रूपमा स्थापित गर्नुपर्ने उनको धारणा छ।

१५औँ महाधिवेशनलाई नेतृत्व चयनको प्रक्रियामा मात्र सीमित नराखी पार्टीको नीति, संगठन र आगामी राजनीतिक दिशालाई स्पष्ट गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने पन्थ बताउँछन्। उनका अनुसार बदलिँदो पुस्ता र नागरिकका अपेक्षालाई सम्बोधन गर्न कांग्रेसलाई थप लोकतान्त्रिक, समावेशी, जवाफदेही र जनमुखी बनाउन आवश्यक छ।

पन्थले आगामी दिनमा समावेशी प्रतिनिधित्व, सामाजिक न्याय, समान अवसर, संघीयता सवलीकरण, सुशासन र संविधानको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

“अपाङ्गता क्लस्टरको प्रतिनिधित्व केवल प्रतिनिधित्वका लागि होइन, नीति निर्माण र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताका लागि हुनुपर्छ। पार्टीका सबै तह र संरचनालाई थप समावेशी र अपाङ्गतामैत्री बनाउनु अबको प्राथमिकता हो,” पन्थले भनेका छन्।

आफ्नो उम्मेदवारीलाई अनुभव, निरन्तरता र परिणाममुखी योगदानको प्रतिबद्धताका रूपमा प्रस्तुत गर्दै पन्थले १५औँ महाधिवेशनका प्रतिनिधिहरूसँग साथ, सहयोग र विश्वासको अपेक्षा गरेका छन्।

उनले आफ्नो उम्मेदवारीलाई समर्थन गर्दै अमूल्य मत प्रदान गर्न नेपाली कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधि, नेता तथा साथीहरूमा हार्दिक अपिल गरेका छन्।

२१ असोज २०८३, बुधवार २०:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु