सूचना प्रविधिमा ५ लाख रोजगारी
सूचनाप्रविधि क्षेत्रमा पाँच लाखभन्दा बढी रोजगारी सिर्जना हुन सक्ने देखिएको छ। नेपालका हरेक क्षेत्रलाई सूचना प्रविधिसँग जोड्न सके आउँदो पाँच वर्षभित्र ५ लाखभन्दा बढीलाई रोजगारी दिन सकिने भएको हो।
सरकारका हरेक संरचनालाई अटोमेसनमा लैजान सके सूचनाप्रविधि क्षेत्रमा पर्याप्तमात्रामा रोजगारी सिर्जना हुन सक्ने जानकार बताउँछन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचनाप्रविधि क्षेत्रमा बढीभन्दा बढी युवालाई समेट्ने गरी गृहकार्य गरेको छ । मन्त्रालयले एक कार्यदल गठन गरी सूचनाप्रविधि क्षेत्रमा रोजगारीको अवस्था र सम्भावनाबारे अध्ययन गरेको थियो। सूचनाप्रविधि क्षेत्रमा रोजगारीका अवसरबारे अध्ययन गर्न गठित कार्यदलले विस्तृत अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।
कार्यदलले बनाएको प्रारम्भिक प्रतिवेदनअनुसार हाल ६३ हजार जनशक्ति सूचना प्रविधिको क्षेत्रमा छ । सूचनाप्रविधि क्षेत्रमा केही सुधार गर्न सके तत्काल थप ८५ हजार रोजगारी सिर्जना हुन सक्ने कार्यदलले प्रारम्भिक अध्ययन गरेको थियो।
१७ फागुन २०८२, आइतवार २३:५९ बजे प्रकाशित












