बलत्कारीलाई १८ वर्ष कैद फैसला, पीडितलाई ५० हजार क्षतिपूर्ति दिन आदेश
 
			१३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लमजुङ जिल्ला अदालतले एक युवकलाई १८ वर्ष कैद सजाय सुनाएको छ ।
पीडित किशोरीलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन समेत अदालतले आदेश दिएको छ । जिल्ला न्यायधीश हरिश्चन्द्र ढुंगानाको इजलासले मध्यनेपाल नगरपालिका ६ भोर्लेटारका २५ वर्षीय सोनम धिंगाललाई कैद फैसला तोक्दै पीडितलाई जरिवाना गर्न आदेश जारी गरेको अदालतका स्रेस्तेदार उदयराज काफ्लेले बताए । उनका अनुसार मंगलबार तोकिएको मुद्दा पेशीको अन्तिम किनारा लगाउँदै धिंगालविरुद्ध फैसला भएको हो ।
यसअघि गत जेठ २० गते थुनछेक बहस हुँदा धिंगाललाई पुर्पक्षका लागि थुनामा पठाउन न्यायधीश ढुंगानाले आदेश दिएका थिए । अदालतले यही माघ १३ गते धिंगालले कसुर गरेको ठहर गरेको थियो । मंगलबार धिंगालविरुद्ध कैद फैसला सुनाउँदै किशोरीलाई क्षतिपूर्ति भराउने आदेश दिएको स्रेस्तेदार काफ्लेले बताए ।
किशोरीलाई साँझ भेट भएको समयमा धिंगालले गाउँकै मकैबारीमा लगेर जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी अनुसन्धान अनुसार मध्यरातमा घर फर्केकी छोरीलाई आमाले बिहान सोधपुछ गरेपछि धिंगालको नाम लिएकी थिइन् । त्यसपछि फरार भएका धिंगाललाई प्रहरीले वैशाख ३० गते तनहुँको दमौलीबाट पक्राउ गरेको थियो ।
२७ माघ २०७७, मंगलवार २२:२३ बजे प्रकाशित
 
						 




