कोरोना भाइरस नेपाल: देशभरि थपिए ९०२ सङ्क्रमित, छ जनाको मृत्यु
मङ्गलवार अपराह्णसम्म २४ घण्टामा नेपालमा थप ९०२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सो अवधिमा छ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ४८,१३८ पुगेको छ। अहिलेसम्म नेपालमा एक चिनियाँ र एक भारतीय नागरिकसहित ३०६ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार सङ्क्रमितमध्ये अहिलेसम्म ३२,९६४ जना निको भएका छन्।
सरकारले सोमवार भदौ २२ गते ९७९ जनामा सङ्क्रमण पुष्टि गरेको थियो।
सङ्क्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन्।
मृतकमध्ये एक महिला र पाँच पुरुष छन्। उनीहरूको उमेर ५४ देखि ८५ वर्ष भएको मन्त्रालयले जनाएको छ।
सङ्क्रमितमध्ये ३०७ जना महिला र ५९५ जना पुरुष छन्।
अहिले काठमाण्डू उपत्यकामा ३९६ जना अर्थात् सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।
सक्रिय सङ्क्रमितको सङ्ख्या पनि अन्यत्रभन्दा उपत्यकामा नै बढी छ।
सङ्क्रमितमध्ये सिकिस्त बिरामी परेका १४४सङ्क्रमितलाई सघन उपचार उपलब्ध गराउनुपरेको र २३ जनालाई भेन्टिलेटरमा राखिएको मन्त्रालयले जनाएको छ।
सघन उपचार आवश्यक परेका र भेन्टिलेटरमा भएका बिरामीहरूको सङ्ख्या वाग्मती प्रदेशमा सर्वाधिक छ।
विगत २४ चौबीस घण्टामा १०,६११ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको डा। गौतमले बताए।
सो अवधिमा २,२८७ जना सङ्क्रमित रोगमुक्त प्रमाणित भए।
भदौ २१ गते आइतवार ९८० जनामा सङ्क्रमण र नौ जनाको मृत्यु भएको पुष्टि भएको थियो। भदौ १६ देखि २० गतेसम्म प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परेका थिए।
गत भदौ १९ गते मन्त्रालयले १,३५९ जनामा सङ्क्रमण र १४ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। त्यो नै अहिलेसम्म एकै दिनमा पुष्टि भएको सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो।
२३ भदौ २०७७, मंगलवार १६:३७ बजे प्रकाशित













