कोभिड १९ का कारण दूग्ध क्षेत्रमा २० अर्बको नोक्सान

कोभिड–१९ को महामारीका कारण डेरी तथा उद्योग क्षेत्रका ६० प्रतिशत बजार गुमेको छ।

नेपालमा कोभिड १९ का कारण लकडाउन भएदेखि हालसम्म दूग्धको निजी क्षेत्रमा मात्र २० अर्ब रुपैयाँ घाटा लागेको केन्द्रीय दुग्ध सहकारी संघले जनाएको छ।

शनिबार काठमाडौंमा आयोजित भर्चुअल कार्यक्रममा केन्द्रीय दूग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले कोभिडको महामारीका कारण दूधको बिक्रीमा ३० प्रतिशत ह्रास आएको बताए।

उनका अनुसार देशभर सहकारीमा ६ लाख लिटर दूध संकलन हुन्छ, त्यसमा अहिले ३० प्रतिशत कमी आएको उनले बताए।

नेपाल डेरी एशोसिएसनका महासचिव प्रल्हाद दाहालले कोरोनाका कारण डेरी उद्योगका ६० प्रतिशत बजार समाप्त भएको बताए।

यो क्षेत्रले २० अर्बको नोक्सान बेहोरिसकेको उनले बताए। दैनिक ६२ लाख लिटर दुध उत्पादन हुने गरेकोमा ३१ लाख मात्र बजारमा जाने गरेको महासचिव दाहालले बताए।

दूध विकास संस्थानका सञ्चालक समितिका सदस्य शितलकाजी श्रेष्ठले दूध क्षेत्रमा उत्पादनको समस्या नभए पनि बिक्रीवितरणमा समस्या भएकाले डीडीसी घाटामा गइरहेको बताए।

डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालका अनुसार कोरोनाका कारण डेरी क्षेत्र ठूलो समस्यामा परेको बताए।

वाग्मती प्रदेश, भूमि, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले दूग्ध क्षेत्रको उद्योगीदेखि लिएर किसानसम्मको समस्या समाधान हुनुपर्ने बताए।

२० भदौ २०७७, शनिवार १९:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु