युवराज खतिवडा राजदूत बन्ने सम्भावना अत्याधिक

अर्थमन्त्री युवराज खतिवडा राष्ट्रियसभामा नदोहोरिने पक्कापक्की भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्न सहमत भएपछि युवराजको दोहोरिने सम्भावना समाप्त भएको हो ।

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले भदौ १७ गते बुधबार बालुवाटारमा खतिवडालाई संयुक्त रूपमा भेटेका थिए ।

भेटमा दुई अध्यक्षले पार्टीको शक्ति सन्तुलनतर्फ देखाउँदै निरन्तरता दिन नसकिने अवस्था आएको जानकारी खतिवडालाई गराएको बालुवाटार स्रोतले जनाएको छ ।

२०७६ फागुन १९ गते राष्ट्रियसभाको २ वर्षे कार्यकाल पूरा गरेका खतिवडालाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री थिए ।

संघीय सांसद नरहेको व्यक्ति ६ महिना बढी मन्त्री हुन नपाउने संवैधानिक व्यवस्था रहेकाले प्रधानमन्त्रीले त्यसअघि नै उनलाई नियुक्तिको तयारी गरेका थिए ।

तर वामदेव गौतमले आफूलाई राष्ट्रियसभामा लैजाने गत फागुन १७ को सचिवालय बैठकको निर्णय ब्युँताएपछि नेकपाको शीर्ष नेतृत्व दुई खेमामा विभक्त भएको थियो ।

प्रचण्डसहित सचिवालयका अधिकांश सदस्य वामदेवको पक्षमा खुलेपछि प्रधानमन्त्री पूर्वअडानबाट ब्याक भएको स्रोतको भनाइ छ ।

अढाइ वर्ष बढी अर्थमन्त्री र गोकुल बाँस्कोटाको बहिर्गमनपछि केही समय सञ्चार तथा सूचना प्रविधि मन्त्रीको भूमिका निर्वाह गरेका उनको कार्यकाल निकै विवादास्पद रह्यो । यद्यपि, उनी प्रधानमन्त्रीबाट निकै रुचाइएका पात्र हुन् ।

मन्त्रीका रूपमा उनले निरन्तरता नपाउने भए पनि प्रधानमन्त्रीले उनलाई आफ्नै टिममा राख्ने मनस्थिति बनाएको बताइएको छ ।

स्रोतका अनुसार, उनी मन्त्रीको हैसियतबराबर आर्थिक सल्लाहकार बनाइने सम्भावना पनि छ ।

त्यस्तै, उनलाई प्रधानमन्त्रीले मन्त्रीमा निरन्तरता दिन नसकिने अवस्था आएकाले राजदूत बनेर जाने विकल्प पनि दिएको चर्चा नेकपाभित्र छ ।

नेकपा महासचिव पौडेललाई अर्थमन्त्री बनाउने तयारी, खतिवडा सरकारबाट बाहिरिने

अहिले अमेरिका र बेलायतको राजदूत पद रिक्त छ । स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले उनलाई अमेरिकाको राजदूत बनाएर व्यवस्थापन गर्ने सम्भावना अलि बढी छ ।

१८ भदौ २०७७, बिहीवार १४:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु