तनहुँ पहिरो : एक जना वेपत्ता, दुई घर पुरियो, १० घरमा क्षति

२४ असार, तनहुँ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोले दुई घर पुरेको र १० घरमा क्षति पुर्‍याएको छ।

ऋषिङमा पहिरोले पुरिएर एक जना वेपत्ता भएका छन्। ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरामा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए।

त्यस्तै ऋषिङ–५ को पिपलटाका १० घरमा पहिरोले क्षति पुर्‍याएको छ। स्थानीयवासी नेत्रबहादुर पाटा, धनबहादुर सोती, सुकबहादुर दरै, दिलबहादुर दरै, कृष्णबहादुर दरै, बुद्धिबहादुर दरै, रजनी दरै, रीता दरै, मनबहादुर दरै र जसबहादुर पाटाको घरमा क्षति भएको छ।

त्यसैगरी सीता केसीको घर पहिरोले पुरेर क्षति पुगेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए। बाढीले करिब १० रोपनी क्षेत्रफलमा लगाइएको पाक्न लागेको मकै बाली क्षति पुर्‍याएको उनले बताए। उनीहरुको परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

त्यसैगरी ऋषिङ–४ का वडासदस्य टोलनाथ थापाको घर पहिरोले पुरेको छ। घरमाथिबाट रुखसँगै पहिरो आएर घर पुरेको वडाध्यक्ष भोजराज रानाभाटले जानकारी दिए।

२४ असार २०७८, बिहीवार ११:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु