चुनावको मिति घोषणासँगै नयाँ राजनीतिक ध्रुविकरणको संकेत

काठमाडौँ, १० फागुन । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेसँगै प्रमुख तीन दल, मधेसी मोर्चा लगायतका दलहरुबीच नयाँ धु्रविकरण हुने विश्लेषण गर्न थालिएको छ । राजनीतिक विश्लेषक विष्णु सापकोटाले मिति घोषणासँगै माओवादी केन्द्र, काँग्रेस र मोर्चाबीचको राजनीतिक सहयात्रामा समस्या देखिने सक्ने टिप्पणी गरेका छन् । संविधान संसोधनका बारेमा काँग्रेस र माओवादीले मोर्चाका कारण यसअघि लिदै आएको अडानमा प्रमुख विपक्षी दल एमालेले असहमति जनाउँदै आएको थियो ।

संविधान संसोधनको टुङ्गो नलागी स्थानीय तहको चुनावको मिति घोषणाले मोर्चा चिढिए पनि एमालेसँग काँग्रेस र माओवादीले केही राजनीतिक सहकार्य गर्न सक्नेमा जोड दिदै विश्लेषक सापकोटाले अझैँ पनि प्रधानमन्त्रीले मोर्चालाई मनाउन प्रयास जारी राख्ने मनसाय राखेको उल्लेख गरे । संविधान संसोधन प्रक्रियालाई जारी राख्दै चुनावको मिति घोषणा गरिएको प्रधानमन्त्रीको भनाइबाट मोर्चालाई साथै लैजाने आशय झल्किने उनले बताए ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्रको रक्षाका लागि परिवर्तनका सबै एजेण्डाको रक्षा र संविधानको कार्यान्वयनका लागि निर्वाचन नै अनिवार्य विकल्प भएकोमा जोड दिदै चुनावको मिति घोषणा महत्वपूर्ण निर्णय भएको बताए । सबै पक्षको सहमतिमा सरकारले निर्वाचन प्रक्रियालाई अगाडि बढाउने भन्दै उनले मोर्चालाई सहमतिमा ल्याइने र उनीहरु पनि निर्वाचनमा केन्द्रित हुने विश्वास व्यक्त गरे ।

यसैबीच सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकोमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भने विरोध जनाएको । मोर्चाको बैठकले संविधान संशोधन प्रक्रिया अघि नबढाई सरकारले एक्कासी निर्वाचन घोषणा गरेको भन्दै विभिन्न विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

१० फागुन २०७३, मंगलवार ०४:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु