गाँजा खेतीलाई वैधानिकता दिन ढिलो भयो : विरोध खतिवडा

१९ माघ, काठमाडौं । गाँजा खेती खुला गर्नुपर्ने माग राख्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसदहरूले संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छन् ।

प्रचलित कानून अनुसार नेपालमा गाँजा खेती प्रतिबन्धित छ । यसलाई खुला गर्नुपर्छ भन्दै संसद सचिवालयमै प्रस्ताव पेश भएपछि यसबारे बहस सुरु भएको छ ।

गाँजा खेती खुला गर्नुपर्ने प्रस्तावको प्रस्तावक सत्तारुढ दल नेकपाका सांसद विरोध खतिवडा छन् । उनी मकवानपुरबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन् ।

मकवानपुर आफैं बढी गाँजा उत्पादन हुने जिल्ला मध्येमा पर्छ । यसको साथसाथै धादिङ, बारा लगायत उच्च पहाडी र हिमाली भेगमा गाँजा खेती हुने गरेको छ, जहाँ अन्य अन्नबाली राम्रो उत्पादन हुँदैन त्यस क्षेत्रमा गाँजा राम्रो उत्पादन हुने गरेको पाइन्छ ।

यसैलाई ध्यान दिएर नेपाललाई आर्थिक रुपमा सक्षम बनाउन र जनताको जीवनस्तर उकास्नका लागि गाँजा खेतीलाई वैधानिक बनाउनुपर्छ भनेर प्रस्ताव लगेको बताउँछन् प्रस्तावक खतिवडा ।

‘सांसदहरुलाई संसदमा बोल्ने अधिकार छ । यि विषय ९गाँजा खेतीलाई बैधानिक बनाउने० ठीक हुन वा होइनन भन्ने कुरा उहाँहरुले बाहिरै बोल्नुभएको छ भने बहस होला । अनेक बहस भइरहेको छ भने यसमा पनि बहस होला’ मन्त्री बास्कोटाले सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए ।

तर, सरकारले गाँजा खेतीलाई वैधानिक बनाउनेबारे अहिलेसम्म केही नसोचेको उनले प्रष्टिकरण दिए ।

‘गाँजा खेतीलाई कानुनले मान्यता दिएको छैन् । हामी नष्ट गर्दै हिँडिरहेका छौं । गाँजा खेती मान्छे लठ्याउनका लागि हो वा औषधीय गुण प्रशोधन गरेर मेडिकल साइन्समा त्यसको प्रयोग हुन्छ भने उपयोग गरौं भनेर आएको हो रु’ मन्त्री बास्कोटा भन्छन्, ‘अहिले एक प्रकारको ड्रग्समै राखेका छौं । विश्वव्यापी मान्यतालाई पनि हेर्नुपर्छ । र, सरकारले यस विषयमा अहिलेसम्म केही सोचेको छैन् ।’

बाँकी खतिवडाकै शब्दमा

सन १९७० को दशकमा भाँगो र गाँजालाई लागूऔषधमा समावेश गर्न नेतृत्व गरेका अमेरिका, क्यानडा, जर्मनी समेत विश्वका पाँचै महादेशका ६५ भन्दा बढी देशले सरकारी निगरानी र नियमनमा रहने गरी गाँजा खेतीलाई खुला गरिसकेका छन् । उत्पादित गाँजा ३०० भन्दा बढी प्राकृतिक औषधी उत्पादन, प्राकृतिक उपचार विधि र आ–आफ्नो देशको स्थिति अनुसार नागरिकलाई क्षति नहुने गरी अन्य प्रयोगमा ल्याइरहेका छन् ।

नेपालको भू–भाग प्राकृतिक रुपले नै गाँजा खेतीका लागि अब्बल भएको हुँदा विश्वका अन्य देशहरुले जस्तै किसानको जीवनस्तर कास्न तथा विदेशी मुद्रा आर्जन समेतका लागि अहिलेको कानुन परिमार्जन गरी सरकारी निगरानी र नियन्त्रणमा तोकिएको क्षेत्रमा गाँजा खेतीलाई बैधानिकता दिन ढिलो भएको छ ।

गाँजा खेतीलाई वैधानिकता दिँदा नेपाललाई आर्थिक रुपमा सक्षम बनाउन, प्राकृतिक उपचारको लागि औषधी उत्पादन गर्न, किसानहरुको जीवनस्तर उठाउन, विदेशी मुद्रा आर्जन गर्न, किसानको आम्दानी बृद्धि गर्न आवश्यक भएकाले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लगेको हुँ ।

१९ माघ २०७६, आइतवार १५:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु