कोभिड–१९ हटिसकेकामा पूरै जनसङ्ख्यालाई खोप नलगाइने
चीनमा पूरै जनसङ्ख्यामा कोरोना विरुद्धको खोप लगाउन जरुरी नभएको वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् ।
यतिबेला केबल फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मी अनि उच्च जोखिम भएका नागरिकहरुलाई मात्र प्राथमिकतामा राख्ने निर्णय भएको चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अध्यक्ष गाओ फुले बताएका हुन् । सो कदमले भाइरस नियन्त्रणको क्षमतामा, बेइजिङको बढ्दो आत्मविश्वास स्पष्ट पारेको पनि उनले बताए ।
अध्यक्ष गाओ फुले भनेका छन्, ‘वुहानमा कोभिड–१९ को पहिलो लहर सुरु भएदेखि चीनले धेरैपटक संक्रमणका लहरहरुको सफलतापूर्वक सामना गरिसकेको छ । त्यसैले पनि चीनको अहिलेको अवस्था हेर्दा ठूलो स्तरमा खोप लगाउन जरुरी देखिँदैन ।’ तर यदि बीचमा कुनै अर्को गम्भीर प्रकोप सुरु भएमा चाहिँ यसबारे पुनः विचार गरिने उनले बताएका हुन् ।
चीनको यो नीति पश्चिमी सरकारहरु भन्दा धेरै फरक मानिएको छ जस्तै केही समय अगाडि अष्ट्रेलियाले ९५ प्रतिशत जनतालाई खोप लगाउने घोषणा गरेको थियो । चीनमा पछिल्लो समय संक्रमण दर अत्यन्तै कम रहेकाले पनि यस किसिमको नीति अपनाउनु स्वभाविक मानिएको विज्ञहरु बताउँछन् ।
यसअघि मे महिनामा उत्तरपूर्वी प्रान्त जिलिन, जुनमा बेइजिङ अनि जुलाइमा जिनजिआङ क्षेत्रमा केही संक्रमितहरु फेला परेका थिए ।
तर बिरामी देखा पर्नासाथै सरकारले तत्काल लडकाउन गरि सबैतिर कडाइ अपनाउँदै त्यहाँ बसोबास गर्ने सम्पूर्णको कोरोना परीक्षण गराएको थियो । चीनले यिनै कदमहरु मार्फत केही हप्तामै भाइरस नियन्त्रणमा लिएको थियो । यसले भाइरस विरुद्ध चीनको नीति कति प्रभावकारी साबित भयो भन्ने स्पष्ट पारिसकेको गाओ बताउँछन् ।
शनिबार सेन्जेनबाट बोल्दैगर्दा उनले भनेका हुन्, “महामारीको प्रतिक्रियामा हामीसँग थुप्रै प्रभावकारी हतियार छन् भन्ने तथ्यहरुबाट पनि पुष्टि भइसकेको छ । ‘त्यसैले पनि खोप उपलब्ध भएमा पहिले देशभित्र र विदेशमा उच्च जोखिमयुक्त माहोलमा काम गरिरहेका फ्रन्टलाइनका स्वास्थ्यकर्मी, त्यसपछि रेस्टुरेन्ट, स्कुल, लगायत धेरै भीडभाड हुने सार्वजानिक स्थलमा खटिएकाहरु, अनि सुरक्षाकर्मी र जेष्ठ नागरिकलाई लगाउन दिइने उनले बताए ।
शनिबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले १० नयाँ कोरोनाका बिरामीहरु फेला परेको जानकारी दिएको थियो जसमा सबै विदेशबाट आएकाहरु रहेको बताइएको छ । त्यस्तै बाहिरबाटै आएका थप ७० जना भने ‘एसिम्पटोमेटिक’ अर्थात बिना लक्षणका बिरामी रहेको पत्ता लागेको थियो ।
तर गाओको सो भनाइका वावजुद खोप निर्माणको विषयमा चीन अग्रणी मुलुक रहँदै आएको छ जहाँ विश्वमै सबैभन्दा धेरै खोप उत्पादन र उपभोग दुवै हुने गर्दछ । चीन एक्लैसँग वार्षिक १ अर्ब खोप आपूर्ति गर्ने क्षमता रहेको बताइएको छ । त्यहाँ देशभरमा गरि ४० खोप निर्माता कम्पनीहरु छन् । यतिखेर मान्छेमा ट्रायल गराइरहेका विश्वव्यापी तीस कम्पनीहरु मध्ये नौवटा चीनबाट मात्र रहेका छन् । गत जुनमा चीनले पूर्ण प्रमाणित नभइकनै एउटा खोप सेनाहरुमा प्रयोग गर्नका लागि स्वीकृत पनि गराएको थियो । सिएनएन
३१ भदौ २०७७, बुधवार ०६:२१ बजे प्रकाशित