भारत यसै बोलेको होइन, नक्कली ‘कपिलवस्तु’ नै बनाएको छ

भारतले आफ्नै भूमिमा गौतम बुद्धका पिताको दरबार रहेको दाबी गर्दै ‘कपिलवस्तु’को नाम दुरुपयोग गर्दा पनि नेपाल सरकार अहिलेसम्म मौन छ । भारतले ‘कपिलवस्तु’को नाम दुरुपयोग गरेकोमा लुम्बिनी विकास कोषका अधिकारी एवं पुरातत्वविद्हरु सन्तुष्ट छैनन् ।

भारतले आफ्नो भूमिमा बनाएको संग्रहालयको नामै ‘कपिलवस्तु संग्रहालय’ राखेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभाको चुनावका बेलामा समेत बुद्धको जन्म बिहारमा भएको बताएका थिए । नेपालमा आएका बेला बुद्ध जन्मेको देश भने पनि मोदीले युरोप भ्रमणमा बुद्धबारे विवदास्पद अभिव्यक्ति दिँदै आएका छन् । यसैक्रममा भारत सरकारले लुम्बिनी नजिकै आफ्नो भूमिमा धमाधम नक्कली ‘कपिलवस्तु’ बनाएर बुद्ध भारतमा जन्मेको प्रमाणित गर्न खोजेको छ ।

भारतीयहरुले बुद्धको अष्ट धातुसमेत आफ्नै भूमिमा फेला परेको भन्दै ‘कपिलवस्तु संग्रहालय’मा अष्ठधातुका घडासमेत राखेको छ । जबकि नेपालका पुरातत्वविदहरु बुद्धको अष्टधातु भारतमा नभई नवलपरासीको रामग्राममा रहेको बताउँछन् ।

भारत सरकारले संसारभरिका पर्यटकलाई आफ्नो देशमा तान्ने रणनीति अनुरुप भारतमा ‘नक्कली कपिलवस्तु’ बनाएको लुम्बिनी विकासकोषका अधिकारीहरुको गुनासो छ ।

गौतम बुद्धले सर्वसाधारणलाई उपदेश दिने स्थान जुन मुख्य स्तुपाको उत्तर तर्फ बनाइएको छ ।
शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट आउने पर्यटकलाई आफ्नो देशतिर तान्ने भारतीय रणनीति धमाधम कार्यान्वयनमा आइरहेको छ ।

भारतको सिद्धार्थनगर जिल्लास्थित पिपराहावामा एउटा सतूपा छ, जहाँ बुद्धको अष्टधातु फेला परेको भारतीय दाबी छ । त्यहाँ गौतम बौद्धभिक्षु, भिक्षुणीहरुको आवास गृहसमेत छ । सो स्थानमा भन्दा करिब एक किलोमिटर अगाडि बुद्धका बुबा शुद्धोधनको ‘नक्कली’ दरबार खडा गरिएको छ । सो स्थानलाई बगैँचाका रुपमा सजाइएको छ ।

स्तुपाको पूर्वतर्फ निर्गोदाम बिहार गौतम बुद्ध र बौद्ध भिक्षुहरु बस्ने आवास गृह देखिन्छ भने स्तुपाको पश्चिमतर्फ महाप्रजापति गौतमी बुद्ध बिहार बौद्ध भिक्षुणीहरु बस्ने आवास गृह छ ।

त्यस्तै स्तुपाको उत्तरतर्फ गौतम बुद्धले सर्वसाधरणलाई उपदेश दिने भवन रहेको बताइन्छ भने दक्षिणतर्फ बुद्धले ध्यान गर्ने भवन रहेको बताइएको छ ।

उक्त स्थानमा घुमफिर गर्नका लागि विभिन्न मुलुकबाट पर्यटकहरु आउने गरेका छन् । चीन, श्रीलंका, क्याम्बोडिया, थाइल्याण्ड लगायतका देशबाट पर्यटकहरु आउने गरेको भारतीय बताउँछन् ।

बुद्धको बुवा शुद्धोधनको नक्कली दरबार । यो भारतले पिपरहवामा बनाएको छ ।बुद्धको बुवा शुद्धोधनको नक्कली दरबार । यो भारतले पिपरहवामा बनाएको छ ।
स्तुपाभित्र ३ वटा भाँडामा बुद्धको ‘अष्टधातु’ राखिएको बताइएको छ । तीनमध्ये एउटा भाँडाको अष्टधातु भारतको कोलकाता लगेर राखिएको र बाँकी २ भाँडामा रहेको अष्टधातु पूजापाठ गर्नका लागि स्तुपाभित्रै राखिएको स्तुपा नजिकै भेटिएका एक बौद्ध भिक्षुले बताउँ छन।

उक्त बुद्धको अष्टधातु फेला परेको स्थानमा जानुअघि नै मुख्य गेटमा ठूलो अक्षरमा ‘कपिलवस्तु’ भनेर लेखिएको छ । तर, उक्त स्थानको बजार क्षेत्रमा भने सो स्थानको नाम कपिलवस्तु हो भनेर कतै उल्लेख छैन ।

प्राचीन कपिलवस्तु राज्यको सीमाभन्दा पूर्वतर्फ रुपन्देहीको रोहिणी नदीसम्म थियो भने पश्चिमतर्फ भालुवाङस्थित राप्ती नदीसम्म रहेको थियो । त्यस्तै उत्तरतर्फ रुपन्देहीको चुरे इलाकासम्म थियो भने दक्षिणको पावा कुशीनगरसम्म फैलिएको थियो ।

हुन त भारतको पिपराहावा नामक स्थान प्राचीन कपिलवस्तु राज्यको सीमा क्षेत्रभित्रै पर्थ्यो । तर, प्राचीन कपिलवस्तुको राजधानी भने नेपालको तिलौराकोटमै रहेको अर्थात बुद्धका बुबाको दरबार पनि नेपालको कपिलवस्तु जिल्लाको तिलौराकोटमै रहेको विभिन्न अध्यनन, अनुसन्धानबाट पुष्टि भइसकेको लुम्बिनी विकास कोषका पुरातत्वविद कृष्ण केसीले बताउँ छन।

भारतको पिपराहावामा रहेको दरबार हेर्दा दरबारमा हुने पूर्वाधारहरु प्रसाशनिक, सैनिक लगायतका भवन नै छैनन् भन्दै पुरातत्वविद केसीले बताए । ‘भारतले बुद्धका बुबाको दरबार आफ्नो देशमा रहेको जति दाबी गरे पनि बुद्धका बुबाको दरबार नेपालको कपिलवस्तु जिल्लास्थित तिलौराकोटमा रहेको विभिन्न अध्यनन, अनुसन्धानबाट पुष्टि भइसकेको छ ।’

केसीले भने सन् १९७५ मा भारतीय पुरातत्वविद केएम श्रीवास्तवले धर्मदुत पत्रिकामा ‘लस्ट सिटी अफ कपिलवस्तु फाउन्ड’ भनेर एक आलेख लेखेका थिए । तर, सन् १८९९ भारतकै पुरात्तवविद पीसी मुर्खजीले प्राचीन कपिलवस्तुको राजधानी नेपालको तिलौराकोटमा नै रहेको रिपोर्ट प्रस्तुत गरिसकेका थिए ।

गौतम बुद्धका बुबा दरबार भारतको सिद्धार्थनगर जिल्लास्थित पिपराहावामा रहेको अर्थात नक्कली कपिलवस्तु रहेको भन्दै भारत सरकारले लुम्बिनी, तिलौराकोट आउने पर्यटकलाई भ्रममा पार्न खोजेको लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष ओमप्रकाश अर्यालले बताए ।

‘गौतम बुद्धले भारतमा ज्ञान प्राप्त गरेका हुन्, उनको मृत्यु पनि भारतमै भएको हो, बुद्धसँग सम्बन्धित कतिपय पुरातात्विक वस्तुहरु भारतमा पनि छन् त्यो हामी इमान्दारितापूर्वक भन्छौँ,’ लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष अर्यालले भने( ‘तर, गौतम बुद्ध जन्मिएको लुम्बिनीमै हो, उहाँका बुबाको दरबार कपिलवस्तुको तिलौराकोटमै हो, यो सबै दिउँसोको घामझैं छर्लङ्ग छ, तर भारतले केटाकेटी पारामा ‘कपिलवस्तुको’ नाम दुरुपयोग गरेर भ्रम फैलाउन खोजिरहेको छ ।’

भारतले पिपराहावामा गौतम बुद्धको अष्टधातु समेत रहेको दावी गरे पनि कोषका कार्यवाहक उपाध्यक्ष अर्यालले त्यसलाई अस्वीकार गरे । उनले गौतम बुद्धको अष्टधातु नवलपरासी जिल्लाको रामग्राममा रहेको विभिन्न अध्यनन अनुसन्धानबाट पुष्टि भइसकेको बताए ।

२५ साउन २०७७, आइतवार ११:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु