दशैँमा सबै जनता घर जान पाउलान् ?

बढी यात्रु हाल्ने गाडीहरुलाई गृहमन्त्रालयले अनुगमन गरेको छैन

भक्तपुर । सरकारले असोज १ गतेबाट लामो रोडको गाडीको अग्रिम टिकट खुलाएपनि अहिलेसम्म जम्मा १७ हजार मानिसहरुले आफ्नो घर जानका लागि टिकट पाएका छन् । जहिलेपनि २८ लाख मानिसहरु दशैँ मनाउन उपत्यकाबाट बाहिर वा आआफ्नो गाउँघर जाने गर्छन् । तर १७ हजार मानिसले टिकट काट्दा नै टिकट सिधिँयो भने अरु जनताहरु तै केसमा आफ्नो घर जान्छन् नि त ।
अहिले टिकट काट्ने काउण्टरमा फूलपातीको दिनसम्मका लागि टिकट सिधिँएको बताइन्छ । तर जम्मा १७ हजार मानिसले मात्र टिकट काट्दा पनि टिकट सबै सिधिँछ त । यातायात व्यवसायीहरुले महंगोमा टिकट बिक्री गर्नका लागि टिकट लुकाइसकेका छन् । साथै अब एकदुई दिनपछि यिनीहरुले टिकाको दिनसम्मको टिकट सिधिँएको बताउँछन् र अग्रिम टिकट बुकिङ बन्द गर्छन् ।
तर टिकट सिधिँयो भनेर टिकट बुकिङ् बन्द गरेपनि लुकाएको टिकटहरु सबै महंगो पैसामा यात्रुलाई बिक्री वितरण गर्छन् । यो जहिलेपनि दशैँको समयमा चल्दै आएको चलन हो । सरकारले अब टिकट सिधिँयो भन्ने तर महंगोमा टिकट बिक्री गर्ने यातायात व्यवसायी वा बिचौलियाहरुलाई कारबाही गर्नुपर्छ ।
अहिले मानिसहरु आफ्नो गाउँघर जानका लागि टिकट काट्न काउण्टरमा दिनभरि लाइनमा बसिरहेका छन् तर उनीहरु टिकट पाइन्छ कि पाइँदैन भनेर चिन्तित छन् । यातायात व्यवसायीहरुले महंगोमा टिकट बिक्री गरेर आफू कमाउनका लागि पर्दाभित्र बसेर टिकट सिधिँएको बताइरहेका छन् ।अग्रिम टिकट बुकिङ सिधिँएपछि यसपालि दशैँ मनाउनका लागि आफ्नो गाउँघर जाने जनताहरु महंगो टिकट वा भाडाको मारमा पर्ने छन् ।
उनीहरु ५ सय रुपैँया तिरेर आफ्नो गाउँ पुग्ने बाटोमा अब १५ सय रुपैँया तिर्नुपर्ने बाध्यता आइरहेको छ । अहिले लामो रोडका गाडीहरुले गाडीको सिट भरेपनि यात्रुसँग सिट खाली छ भन्दै महंगोमा टिकट बिक्री गरिरहेका छन् । टिकट काट्न काउण्टरमा बसेका कर्मचारी र यातायात व्यवसायीहरु जनतालाई टिकट सिधिँयो भन्ने र सबै टिकट बिचौलियालाई महंगोमा दिने गर्छन् ।
यता त्यहँी बिचौलियाहरु जनतालाई झन् महंगोमा टिकट बिक्री गर्ने गर्छ । यातायात व्यवसायी र टिकट काट्ने कर्मचारीहरु आफू कमाउनका लागि यस्तो काम गर्ने गर्छन् । यता अग्रिम टिकटमा पनि विघार्थी, जेष्ठनागरिक, अशक्त वा अपाङ्गहरुलाई पनि भाडा छुट नदिने वा १० वर्षका बालबालिकाहरुको पनि ठुलो मानिसको जति नै भाडा लिइरहेका छन् ।

यात्रुले टिकट त काटे तर टिकटमा न त सिट नम्बर नै छ न त गाडी नम्बर नै । साथै गाडी साहुको नाम वा गाडी कति वर्ष पुरानो हो भनेर पनि उल्लेख गरिएको छैन । पहिला नै अग्रिम टिकट काटेपनि दशैँको समयमा आफ्नो गाउँघर जाने बेला कि नक्कली सिटमा जानुपर्छ होइन नै उभ्रिएर नै जानुपर्ने बाध्यता रहन्छ ।

थोत्रा , कबाडी गाडीहरुमा चढेर आफ्नो गाउँघर जाने यात्रुसँग पनि व्यवसायीले सुपर डिलक्सको भाडा ४० प्रतिशत बढी जोडेर लिइरहेका छन् । कानूनमा नयाँ गाडी दर्ता भएको ३ वर्षपछि त्यस गाडीले सुपर डिलक्सको भाडा यात्रुसँग लिन पाउँदैन तर यहाँ त १६ देखि १७ वर्षसम्म पुगेका गाडीहरुले पनि सुपर डिलक्सको भाडा यात्रुसँग लिइरहेको पाइन्छ ।

पछिल्लो समय बाटोमा गुडिरहेका गाडीहरुको अवस्था हेर्दा वा गंगपुरको नयाँ बसपार्कमा राखिएका गाडीहरुको अवस्था देख्दा जनता वा यात्रुहरु तसिंन्छन् । यी गाडीहरु सबै पानी चुहिने, सिसा फुटेको वा इन्जिन बिग्रिएका रहेका छन् । मानिसहरु यस्तो गाडीहरुले कतै हामीलाई दुर्घटना गराएर त मार्दैनन् भनेर डराउँछन् । कतै यो गाडी २० वर्ष नाघेको गाडी त होइन भनेर जनता अहिले अन्योलमा छन् । तर यस्ता गाडीहरुको अवस्था न ट्राफिकहरुले चेकजाँच गर्छन् न यातायात व्यवस्था विभागले ट्राफिकलाई अनुगमन गर्न निर्दैशन नै दिन्छ ।

यस्तो गाडीहरु वा बिग्रिएका गाडीहरु सरकारले चलाउन दिँदा दशैँको समयमा झन् बढी जनताहरु दुर्घटनामा परेर मर्ने छन् । दशैँको समयमा सवारीसाधन दुर्घटनामा परेर कुनै पनि नागरिक मर्नुहुदैँन र कसैको पनि घरमा रुवाबासी हुन सरकारले दिनु हुदैँन । सुन्धारा, गौशला, कोटेश्वर, गंगपुर जतिपनि टिकट काटने काउण्टर रहेको छ ती सबैमा अहिले फूलपातीको दिनसम्मको टिकट सिध्ािँयो भनेर जनतालाई खाली हात फकाईन्छ ।

पहिला फूलपातीको अघिल्लो दिनसम्मको टिकट सिधिँयो भन्ने तर काउण्टरले जतिभन्यो त्यति नै पैसा दिएमा बिचको समेत टिकट सजिलैसँग मिलाइदिने । टिकट काटने काउण्टरमा अहिलेपनि सरकारले निर्धारण गरेको भाडादर यात्रुले देख्नेगरी राखिएको छैन । काउण्टरमा बसेका कर्मचारीहरुले जति पैसा माग्छन् त्यति नै यात्रुले तिरिरहेका छन् । लामो रोडका गाडीहरुले अहिले जनतालाई त ठगीरहेका नै छन् तर थोरै मानिसले भएतापनि अहिलेसम्म अग्रिम टिकट काट्न पाएका छन् ।

साथै यता टिकट काट्न लाइनमा बसेका मानिसलाई न त सार्वजनिक शैचालयको नै व्यवस्था छ न त खानेपानीको नै । उनीहरु घाम न पानी भनेर टिकट काट्न बसिरहेका छन् । बुढाबुढी , अश्क्त वा दीर्घकालीन रोगीहरुका लागि छुट्टै टिकट काटिदिने व्यवस्था पनि मिलाएको छैन । यता सानो गाडीकोे पनि अग्मि टिकट बुकिङ खुलाएको छैन ।

कोटेश्वर, कंलकी, बलखु, चावहिल, गंगपुरहरुमा मानिसहरु सानो गाडीको अग्रिम टिकट खुलिएको छ कि भनेर टाढाटाढाबाट आउने गर्छन् तर सानो गाडीको अग्रिम टिकट नखुलाएका कारण खाली हात फर्किन्छन् । सानो गाडीहरुले अघिपछि त जनता ठग्छन् भने दशैँको मौकामा त यिनीहरुले झन् बढी जनता ठग्ने गर्छन् ।

यातायात व्यवस्था विभागले सानो गाडीको अग्रिम टिकट बुकिङ खुलाउने भनेर निर्णय गरेको भए जनताले सरकारले निर्धारण गरेको भाडादरमा नै आफ्नो गाउँघर जान पाउँन्थे । सरकारले सानो गाडीको अग्रिम टिकट नखुलाउँदा यातायात व्यवसायी र यातायात व्यवस्था विभागका महानिर्दैशकलाई मात्रै फाइदा भइरहेको छ । यातायात व्यवस्था विभागका महानिर्दैशक टोकराज पाण्डेयले व्यवसायीसँग आर्थिक लेनदेन गरेर सानो गाडीको अग्रिम टिकट नखुलाएको भनेर विभागकै एक कर्मचारी नाम नबताउने सर्तमा बताउँछन् ।

साथै यता सानो गाडी व्यवसायीहरु पनि हामीले विभागका महानिर्दैशकलाई पैसा दिएर नै सानो गाडीको अग्रिम टिकट नखुलेको भनेर खुला रुपमा बताउँछन् । सानो गाडीको अग्रिम टिकट नखुल्दा सानो गाडी चढेर आफ्नो गाउँघर जाने लाखौँ मानिसहरु महंगो भाडाको मारमा परेका छन् । सिन्धुली घर भइ हाल कोटेश्वरमा बस्ने श्याम श्रेष्ठ फूलपातीको अघिल्लो दिनको टिकट काट्न कोटेश्वरमा आएका थिए तर सानो गाडीको अग्रिम टिकट सरकारले नखुलाएका कारण उनी खाली हात नै फर्किए ।

सरकारले कोटेश्वरबाट सिन्धुलीसम्म गएको ६७० रुपैँया तोकेको छ तर अघिपछि नै ११ सय रुपैँया लिने गरेको र अब झन् दशैँको समयमा मौका छोपेर महंगो भाडा व्यवसायीले लिन्छन् भनेर उनी बताउँछन् । यता टिकट काट्न काउण्टरमा बसेका कर्मचारीहरु यात्रुलाई सानो गाडीको अग्रिम टिकट नखुलेको र जुन दिन घर जाने हो त्यँही दिन आउनुस् भनेर फिर्ता फर्काइ रहेका छन् । साथै यहाँ पनि सरकारले निर्धारण गरेको भाडादर कतैपनि यात्रुले देख्नेगरी राखेको छैन जसले गर्दा काउण्टरले जतिमाग्यो त्यति नै यात्रुले तिर्नुपर्ने बाध्यता रहेको छ ।

ठुलो गाडीले त विघार्थी, अशक्त, जेष्ठनागरिकहरुलाई भाडा छुट दिएको छैन भने सानो गाडीले त के ने दिन्थ्यो । यी गाडीहरुले पनि सुपर डिलक्सको नाममा ४० प्रतिशत बढी भाडा यात्रुसँग जोडेर लिइरहेका छन् । तर यि गाडीहरु सरकारले बनाएको सुपर डिलक्सको मापदण्डभित्र पर्देनन् तापनि यस्ता गाडीहरुले जनतासँग यसरी पैसा ठगरिहेका छन् ।

सानो गाडीको बिलबुकमा जम्मा १३ सिटमात्र उल्लेख गरिएको हुन्छ तर यी व्यवसायीहरुले नक्कली सिट हालेर वा यात्रु उभाएर २३ देखि २५ जनासँग हालिरहेका छन् । तर यो नक्कली सिट न ट्राफिकले नै अनुगमन गरेर हटाउँछ न कारबाही नै गर्छ । यी गाडीहरुको पछाडि एक चक्का मात्र हुने गर्छ र धेरै यात्रु गाडीले हाल्दा लोड बढी भएर दुर्घटना हुने जोखिम धेरै रहन्छ ।

यी गाडीहरुको रोडपर्मिेट छैन । यी गाडीहरुले पटकेको आधारमा गाडी चलाइरहेका छन् । यसरी पटकेको आधारमा गाडी चलाउँदा राज्यको ढुकुटीमा पनि राजस्व आउँदैन र दुर्घटना भएर कोही मरेमा उसले क्षतिपुर्ति पनि पाउँदैन । साथै रोडपर्मिेट नलिइ चलाएका गाडीहरुको कागजपत्र वा बिलबुकहरु ट्राफिकले पनि चेक गर्दैन । ट्राफिकले यस्ता गाडीहरुको अनुगमन नगर्दा यस्ता गाडीबाट हुने दुर्घटना पनि बढीरहेको छ र राज्यको ढुकुटीमा आउनुपर्ने राजस्व पनि रोकिरहेका छ ।

सानो गाडीहरुले घरेलु वा कम्पनीमा गएर पञ्जीकरण पनि गरेका छैनन् । यी गाडी किन्ने व्यवसायीहरुले एउटा गाडीमा २० देखि ५० लाखसम्म लगानी गरेका छन् तर लगानी गरेको र दिनहुँ कमाएको रकमको राज्यलाई राजस्व तिर्दैनन् । यता राज्य राजस्वबिहिन भएको छ भने उता जनताले महंगो भाडा तिर्नुपरिरहेको छ । सानो गाडीहरुको लुट र ठगको धन्दा यसरी मौलाउँदा पनि यातायात व्यवस्था विभाग उनीहरुलाई नै पर्दाभित्र बसेर सहयोग गरिरहेको छ ।
विभागका महानिर्देशकले व्यवसायीसँग पैसा खाएर सानो गाडीको अग्रिम टिकट नखुलाएको कुरा लुकाएर लुक्दैँन र छेकेर छेक्दैँन । सानो गाडीहरु पनि सबै थोत्र्रा, पुराना, कबाडी रहेका छन् र २० वर्ष पुगेका गाडीहरु अहिले बाटोमा चलिरहेका छन् तर न त अनुगमन नै छ न त कारबाही नै । सरकारले २० वर्ष गाडीहरु हटाउने भनेर निर्णय गरेपनि बाटामा गुडेका गाडीहरु सबै २० वर्ष नाघेका गाडीहरु हुन् भनेर जनता महसुस गर्छन् । तर ट्राफिकहरुले त्यस्ता गाडीको कागजपत्रहरु चेकजाँच गर्दैन ।

जनताले यातायात व्यवस्था विभागसँग सानो गाडीको अग्रिम टिकट खुलाउन र बढी भाडा लिने व्यवसायीलाई कारबाही गर्न माग गर्छन् । यातायात व्यवसायीहरुले विघार्थी, अशक्त, जेष्ठनागरिकलाई भाडा छुट दिएको भनेर सरकारलाई तिनुृपर्ने कर छुट गराउँछन् तर उनीहरुलाई भने भाडा छुट दिदैँनन् ।

यसपालिको दशैँमा पनि जनतालाई घर जान सास्ती र हैरान हुने भयो र महंगो भाडा तिर्नुपर्ने बाध्यता सिर्जना हुने भएको छ । व्यवसायीहरुले आफु कमाउनका लागि सरकारले तोकेकोभन्दा दोब्बर भाडा लिएर जनता ठग्ने र थोत्रा, पुराना, कबाडी गाडी चलाएर वा सिटभन्दा बढी यात्रु हालेर जनता मार्ने गर्छन् । अहिलेदेखि नै बढी भाडालिने , सिटभन्दा बढी यात्रु हाल्ने गाडीहरुलाई गृहमन्त्रालयले अनुगमन पनि गरेको छैन र कारबाही गर्न निर्देशन पनि दिएको छैन ।

उपत्यकाभित्र चल्ने लोकल गाडीको सरकारी भाडादर एक किलोमिटरबाट ५ किलोमिटरसम्म २० रुपैँया हो तर व्यवसायीहरुले यात्रुसँग २५ देखि ३० रुपैँयासम्म लिन्छन् । तर यसको पनि अनुगमन छैन । यदि सरकारले यो भाडादरलाई भागवण्ड गरिदिने हो भने एक किलो मिटरको ४ रुपैँया पर्न जान्छ तर ४ रुपैँया तिर्दा पुग्ने बाटोमा यात्रुले २५ रुपैँया तिर्नुपरिरहेको छ । अब दशैँको समयमा टयाक्सीले पनि मिटरमा यात्रु नबोक्ने र जनता ठग्ने गर्छ । तर ट्राफिकले अनुगमन गर्ने छैन । दशैँको समयमा मानिसहरु किनमेल गर्न वा बस चढ्न जानका लागि टयाक्सीमा यात्रा गर्छन् र यँही मौका छोपेर टयाक्सी व्यवसायीले जनतालाई नराम्रोसँग ठग्ने गर्छ । अब सरकारले दशैँमा जनता ठगिनबाट जोगाउनुपर्छ । साथै ट्राफिकहरुले पनि अनुगमनमा कडाइ गर्नुपर्छ ।

४ असोज २०७९, मंगलवार २२:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु