सिंहदरवार भित्र पनि मिलेका छैनन् एमाले र माओवादी केन्द्र

फरक-फरक बैंक खाता, प्रस्तुती पनि उस्तै  ! 

कम्युनिस्ट घटक तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएर ‘नेकपा’ बनेको लामो समय भइसक्यो । अझै दुई पार्टी एक भएको अनुभुत कतिपयले गरेका छैनन् । त्यो अनुभव सिंहदरवार भित्र मज्जैले गर्न सकिन्छ ।

नेकपाको संसदीय दलको कार्यालय सिंहदरवारमा एक हुन सकेको छैन । तत्कालीन एमाले संसदीय दलको कार्यालयमा अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओली र दलका उपनेता सुवाष नेम्बाङको नेमप्लेट छ ।

त्यस्तै, अर्को भवनमा तत्कालीन माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतक देव गुरुङको कार्यकक्ष छ ।

दुवै पूर्व दलका संसदीय दलका कार्यालय मात्र फरक छैनन सांसदहरुको आगमन र कार्यक्रता भेटघाट पनि सोही अनुसार छुट्टाछुट्टै हुने गरेको नेकपाकै नेताहरु बताउँछन् ।

‘पार्टी एक भए पनि भावनात्मक रूपमा अझै एक हुन नसकेका कारण एउटै पार्टीभित्र दुई वटा दलकै जस्तो अवस्था छ, यसैको प्रमाण हो– सिंहदरवारमा छुट्टाछुट्टै संसदीय दलको कार्यालय’ नेकपाका सांसद विजय सुब्बा भन्छन् ।

नेकपाको संसदीय दलको कार्यलय एकै ठाउँमा किन नभएको भनेर प्रश्न गर्दा ठाउँ अभाव भएको तर्क गर्ने गरिएको छ । तर, यो वाइह्यात तर्क भएको सुब्बाको टिप्पणी छ ।

‘एमालेको कार्यालय वरपर अरु साना दलका अफिसहरु छन् । तीनलाई माओवादीको कार्यालय भएको भवनमा सारेर नेकपाको एकै ठाउँमा गर्न सकिन्थ्यो । तर, मन नमिलेपछि स्पेसको बाहना गरियो’ उनले भने ।

फरक-फरक बैंक खाता

संघीय संसद सचिवालय स्रोतका अनुसार नेकपाका सांसदहरुको लेवी पार्टीमा जाँदा अहिले पनि तत्कालिन एमाले र माओवादी केन्द्रको नामको बैंक खातामा जाने गरेको छ ।

‘नेकपा बनेको भनिन्छ तर, तत्कालिन एमाले र माओवादी केन्द्रको नाममा सांसदहरुको तलब जाने गरेको छ । मौखिक कैयौं पटक भनियो, लिखित आग्रह गरियो तर, सुनुवाई भएको छैन’ संसद सचिवालयका कर्मचारीको गूनासो छ ।

केही समय अघि राष्ट्रिय सभामा नेकपाका तर्फबाट १८ जना सांसद निर्वाचित भएर आए । सचिवालयले नेकपाको एउटै खाता नभएका कारण पूर्व पार्टीहरु कुन कुन भन्ने छुट्याएर तलब पठायो ।

‘एक जना पूर्व माओवादीका सांसदको पूर्व एमालेकोमा परेछ, एक जनाको कमी आयो भन्दै फोन आएपछि सच्चाएर जता भनियो उतै पठाइयो’ एक कर्मचारीले भने ।

सिंहदरवारमा पूर्व एमाले र माओवादी एक भएर पनि फरक फरक दलका रुपमा रहँदाको अप्ठ्यारा अन्य पनि कैयौं रहेको ति कर्मचारीको भनाई छ ।

निर्वाचन आयोगका ‘नेकपा एमाले’ र ‘माओवादी केन्द्र’ नामका फरक फरक पार्टी दर्ता छन् । सिंहदरवारमा भने पूर्वएमाले र माओवादी छुट्टाछुट्टै दलको कार्यालय र बैंक खाता लिएर बसेका छन् ।
नेकपाका सांसदले पार्टीलाई बुझाउने लेवी फरक फरक पार्टीमै जाने भइहाल्यो । लेवीको रकममा भने एकरुपता छ – १२/१२ हजार ।

प्रस्तुती पनि फरक- फरक

संसद र संसदीय समितिमा हुने छलफलमा पूर्व पार्टीहरु छुट्टिने गरेका छन् ।
पूर्व एमालेहरु सरकारको बचाउमा र पूर्व माओवादीहरु सरकारको आलोचनामा रमाउने गरेका छन् ।

यसबारे राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य समेत रहेका पूर्व एमालेका सांसद विजय सुब्बा भन्छन्, ‘गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयका विषयमा छलफल गर्न सरकारलाई बोलाउने निर्णय भएछ । यो निर्णय गर्नु भन्दा पहिला पार्टी भित्र छलफल गर्नुपर्ने थिएन रु थियो नि । सरकारको तर्क के हो रु भन्ने सुनेर मात्रै छलफल गरे हुन्थ्यो । त्यो पार्टी चेतना साथीहरुमा छैन । यस्तो कैयौं पटक भएको छ । धेरै पटक, पटक–पटक भएको छ ।’

आइतबारका लागि राज्य व्यवस्था समितिले ‘संघीय गणतन्त्र नेपाल’ नलेख्ने निर्णयबारे मुख्य सचिवलाई बोलाएको थियो । तर, कुनै कारण नखुलाएरै बैठक स्थगित गरिएको छ ।

राज्य व्यवस्था समिति सभापति पूर्व माओवादी तर्फका शशी श्रेष्ठ छिन् । उनले समितिको बैठकको एजेण्डा तय गर्दा पूर्व पार्टीको रुपमा तय गर्ने गरेको सांसद सुब्बाको अर्को आरोप छ ।
‘बैठकको विषयहरु छनोट गर्दा पनि पूर्व एमाले र माओवादी छुट्टिने गरेको छ । नेकपाका सांसदले सरकारलाई सफल बनाउनुपर्ने हो, तर, त्यो हुन सकेको छैन् । हुन त पूर्व एमाले तर्फका प्रधानमन्त्री भएर होला पूर्व एमालेहरु सरकारलाई सघाउमा लागिरहेको देख्छु’ सुब्बाले भने ।

नेकपाका प्रमुख सचेतक देव गुरुङ छन् । उनी पूर्व माओवादी नेता हुन् ।

सांसद सुब्बा गुरुङले नेकपाको सांसद भएर संसदमा नेतृत्व लिन नसकेको टिप्पणी गर्छन् ।
‘देव गुरुङ पार्टीको नेता पनि हो । पार्टीको निति निर्दशनमा सांसदहरुलाई राख्नुपर्ने जिम्मेवारी पाउनुभएको छ । तर, मैले अझैसम्म प्रमुख सचेतकका रुपमा गुरुङलाई महसुस गर्न पाएको छैन् ।’
‘सबै कोणबाट पूर्वमाओवादी र पूर्वएमाले मिलिरहेको जस्तो लाग्दैन’ सुब्बाले थपे ।

सिंहदरवार बाहिर पनि उस्तै  ! 

तत्कालिन पार्टीका केन्द्रीय कार्यालयहरु फरक- फरक ठाउँमा कायमै छन् ।

धुम्बाराहीस्थित कार्यालयलाई केन्द्रीय कार्यालय तोकिएको छ भने पेरिसडाँडालाई जनवर्गीय संगठनको कार्यालयका रूपमा तोकेको छ ।

दुई पार्टी कार्यालय धुम्बाराही र पेरिसडाँडा लाई नै केन्द्रीय कार्यालयका रूपमा प्रयोग गर्दा नेता कार्यकर्ताहरु पूर्व पार्टीसँग सम्बधित कार्यालयमा बढ्ता केन्द्रीत हुने नेकपाकै नेताहरु बताउँछन् ।

यसको प्रष्ट प्रमाण हो– गत विहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति । पूर्व माओवादीको कार्यालय रहेको पेरिसडाँडातर्फ संकेत गर्दै ओलीले मन्त्रिपरिषद बैठकमा सरकारलाई असफल बनाउने ‘कोटेश्वरतिरको तानाबाना’ चकनाचुर पारिने बताएका थिए ।

तथापि, माधव नेपालको निवास पनि कोटेश्वरतिरै छ ।

२३ कात्तिक २०७७, आइतवार १६:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु