काठमाडौँबासीको भान्सामा मरेका कुखुरा!
हरियो तरकारीमा हालिने बिषादीले कायल भएका काठमाडौँबासीको भान्सामा मरेको कुखुरा पनि पुग्ने गरेको तथ्य शुक्रबार सार्वजनिक भएको छ।
काठमाडौँको नयाँ बजार क्षेत्रमा बिक्रीवितरणका लागि हेटौँडाबाट ल्याएको तीनसय २५ किलो मरेको कुखुरा प्रहरीले बरामद गरेपछि यो तथ्य सार्वजनिक भएको हो।
महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले एउटा पिकअप भ्यानमा मरेका एकसय ७० थान कुखुरा सहित ३ जनालाई पक्राउ गरेको छ।
प्रहरीले नियन्त्रणमा लिएको बा १७ च १२३६ नम्बरको भ्यानमा दजैनौ मरेका कुखुरा बरामद भएको हो।
‘मरेका कुखुरा विक्रीवितरण हुने सूचनाका आधारमा निगरानी गरिरहेका थियौँ, शुक्रबार यो कुरा पुष्टि भएको छ’ बृत्तका प्रमुख डिएसपी गौतम केसीले भने, ‘यस विषयमा थप अनुसन्धान गरिरहेका छौँ।’
डिएसपी गौतमले काठमाडौँका अन्य क्षेत्रमा समेत मरेका कुखुराको विक्री वितरण भइरहेको हुनसक्ने भएकाले प्रहरीले निगरानी बढाइएको जानकारी दिए।
मरेका कुखुराको विक्री वितरण गर्ने व्यवसायीहरु हेटौँडाका हिमाल बर्तौला, भ्यानका चालक इन्द्रबहादुर अधिकारी र सहचालक अनिष दोङलाई पक्राउ गरेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा नयाँबजार र बसपार्क क्षेत्रमा रहेका फ्रेस हाउस र होटल तथा रेष्टुरेन्टलाई बिक्री गर्न मरेका कुखुरा हेटौँडाबाट ल्याइएको खुलेको छ।
२२ असार २०७५, शुक्रवार १४:३२ बजे प्रकाशित













