५० प्रतिशत विद्यालय बन्द हुने जोखिममा
			देशभरका ५ हजार निजी तथा आवासीय विद्यालय बन्द हुने जोखिममा पुगेका छन् ।
कोरोनाभाइरस संक्रमणको जोखिम बढ्दै विद्यालय खुल्ने समय अनिश्चित बन्दै गएपछि देशभर रहेका त्यस्ता निजी तथा आवासीय विद्यालयमध्ये ५० प्रतिशत विद्यालय बन्द हुने जोखिममा पुगेको निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनले जनाएको छ ।
प्याब्सनका अनुसार स्थानीय तहबाट स्वीकृति लिएर सञ्चालन हुने मन्टेश्वरी देखि माध्यामिक विद्यालय तहसम्म पठनपाठन हुने समेत गरी हाल करिब १० हजार शैक्षिक संस्थाहरु सञ्चालनमा छन् । तीमध्ये कतिपय बन्द भइसकेका छन् । कतिपय भने विद्यालय खुलेपछि हुने व्ययभार धान्न नसक्ने अवस्था भएर फेरि नखुल्ने अवस्थामा छन् ।
प्याब्सनका अध्यक्ष टीकाराम पूरी घरभाडा, शिक्षक र कर्मतारीको खर्च, अरु सञ्चालन खर्च र बैंकको ब्याज तिर्न नसक्ने अवस्थाका कारण ५० प्रतिशत विद्यालय अब खुल्नै नसक्ने हो कि भन्नेमा पुगिसकेको बताउँछन् । कोभिड लम्बिँदै जाँदा त्यस्तो संख्या अझै बढ्नसक्ने उनको भनाइ छ ।
देशभर कोरोना संक्रमण फैलिन थालेपछि सरकारले मानवीय गतिविधिलाई थप कडाइ गर्दै गएको छ । यसअघि भदौ १ गतेदेखि खुल्ने भनिएको शिक्षण संस्था अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ ।
सरकारको यो निर्णयसँगै यसअघि भदौ लागेपछि विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्ने तयारी अघि बढाएका विद्यालयको योजनामा ब्रेक लागेको छ । विद्यालय सञ्चालकहरु यतिबेला थप निराश बनेका छन् । भदौदेखि पठनपाठन हुन नपाएपछि अब दशैं तिहारअघि विद्यालय खुल्ने सम्भावना टरेको विश्लेषण उनीहरुले गर्न थालेका छन् । यसो गर्दा करिब ७ महिनाको समय खेर जान्छ ।
भदौ १ गतेदेखि समेत भर्ना सञ्चालन खुलेको भए अधिकांश विद्यालयले अघिल्लो ४ महिना छुटेको पढाइलाई समेत परिपुर्ति गर्नेगरी विद्यार्थीहरुको शिक्षण गतिविधि अघि बढाउने तयारी गरेका थिए । तर, विद्यार्थी भर्ना नै अनिश्चित हुँदा उनीहरुमा अर्को चिन्ता थपिएको छ ।
‘चार महिनासम्म पढाइलाई त रिकभर गर्न सकिन्छ भन्ने हामीले सोचेका थियौं । अभिभावकहरुलाई पनि कन्भिन्स गर्न सकिन्छ भन्ने लागेको थियो’ निजी विद्यालयका एकजना सञ्चालक भन्छन्, ‘अहिले त कोरोना पनि बढ्दै गएको छ, कहिले खुल्ने निश्चित छैन । अब अभिभावकहरुबाट वर्षभरीको शुल्क लेऊ भन्न पनि मिल्दैन, रिकभर गरेर पठाउँछु भन्न पनि सकिँदैन । भाडा तिर्ने र शिक्षक कर्मचारीलाई कसरी पाल्ने भन्ने समस्या चाहिँ अर्कोतिर छ ।’
ती सञ्चालकका अनुसार अब कम्तीमा १ महिना भर्ना खुल्ने सम्भावना छैन । १ महिनापछि भर्ना खुल्यो भने पनि चाडबाडअघि कोही पढ्न आउने छैनन् । दशैं, तिहार लगायत चाडवाड सकिँदा मंसिर लाग्छ । यो वर्ष ५ महिना पढ्न पनि विद्यार्थीलाई मुस्किल छ ।
त्यसरी बन्द हुने विद्यालयको पहिलो जोखिममा भने साना विद्यालय नै छन् । अधिकांश साना विद्यालयहरु भाडामा सञ्चालनमा रहेको र ती विद्यालयहरुले त्यस्तो घरभाडा र कर्मचारी खर्चको बोझ थेग्न नसक्ने अवस्थामा पुगिसकेको भन्दै पहिलो चरणमा बन्द हुने सम्भावना रहेको प्याब्सनका अध्यक्ष पूरीको भनाइ छ ।
३२ साउन २०७७, आइतवार ०६:१४ बजे प्रकाशित
						 




