नियमन गर्ने निकायबीच समन्वयको कमी
काठमाडौँ, १ चैत । गुणस्तर नियमन गर्ने निकायबीच प्रभावकारी समन्वय नहुँदा र भएका कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा उपभोक्ता ठगिने गरेका सरोकारवाला पक्षको गुनासो छ ।
विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा उपभोक्ता मञ्च नेपालले आज आयोजना गरेको ‘उपभोक्ताको मौलिक हकसम्बन्धी कानून कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रियामा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नियमनकारी निकायबीच समन्वयनको अभाव र भएका कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा उपभोक्ता मारमा परेको बताउनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देश सञ्जीवकुमार कर्णले स्रोतसाधन र दक्ष जनशक्तिको कमीका कारण खाद्य पद्धार्थको सही रुपमा गुणस्तरको अध्ययन गर्न कठिन भइरहेको बताउनुभयो । उहाँले नेपालमा भइरहेको विसं २०२३ को खाद्य ऐनले गुणस्तर विपरीत काम गर्नेलाई सजाय पनि कम रहेको हुँदा समसामयिक परिवेशमा ऐन संशोधन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको गुणस्तर र मूल्यमा नियमन गर्ने कानून अहिलेसम्म नहुँदा सो क्षेत्रमा मनोमानी भएको औषधि ऐन पनि संशोधन गर्नुपर्ने जरुरी रहेको बताउनुभयो ।
मञ्चका अध्यक्ष ज्योति बानियाँले नेपालको संविधानमै मौलिक हकका रुपमा उपभोक्ता अधिकार रहेको हुनाले त्यसको कार्यान्वयका लागि उपभोक्ता जागरुप हुनुपर्ने र नियमनकारी निकायले पनि गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो ।
विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा नेपालमा पनि ‘गुणस्तरीय सेवामा उपभोक्ताको अधिकारःहामी सबैको सरोकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ ।
१ चैत २०७५, शुक्रवार १६:०६ बजे प्रकाशित













