नेपाली सेनाको भूमिकामाथि प्रभु साहले उठाए प्रश्न 

प्रभु साह नेतृत्वको आम जनता पार्टीले वर्तमान सरकारलाई फेक शासनको संज्ञा दिएको छ ।

केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष साहले पेश गरेको राजनीतिक प्रतिवेदनमा फेक शासनको भण्डाफोर गर्ने र जनआन्दोलनको दिशामा अग्रसर हुने मूल निश्कर्ष निकालिएको छ ।

आजपाले देश अन्त्यहीन संकटको यात्रामा अग्रसर रहेको र ऐतिहासिक जेनजी आन्दोलनसमेत अर्थहीन भएको निचोड निकालेको छ ।

वालेन्द्र शाहको नेतृत्वमा सरकार बन्दा जनतामा ठूलो अपेक्षा भएपनि सरकारले समयमै प्रतिफल दिन नसक्दा जनतामा असन्तोष र आक्रोश बढेको आजपाको ठहर छ। आजपाले शक्तिशाली नयाँ सरकार बन्दापनि सबै क्षेत्रमा सकारात्मकता देखिनुको साटो निराशा छाएको र नेपालको राष्ट्रिय स्वाधिनता नै संकटमा परेको निश्कर्ष निकालेको छ । उसले नेपालमा पछिल्लो समय वैदेशिक हस्तक्षेपसमेत बढिरहेको दाबी गरेको छ ।

देशलाई संकटबाट निकाल्न र आम जनतालाई देशको वास्तविक मालिक बनाउनको लागि नक्कली शासनको भण्डाफोर गर्न जरुरी रहेको पनि आजपाले आवश्यकत्ता औंल्याएको छ । अहिले देशमा भन्ने एउटा र गर्ने अर्को अर्थात फेक शासन हाबी रहेको आजपाको आरोप छ ।

अध्यक्ष साहकाअनुसार अहिले नेपालमा छद्यमभेषी राजनीति हाबी छ । छद्यमभेषी राजनीतिलाई परास्त गर्न संघर्षबाहेक अर्को विकल्प पनि नभएको साहको बुझाई छ ।

२००७ सालदेखि पछिल्लो समय भएको ऐतिहासिक जेनजी विद्रोहसम्म आईपुग्दा नेपालमा भएका सबैखाले साना तथा ठूला आन्दोलन कुनै न कुनै रुपमा सम्झौतामा टुँग्गिएको कारण देशले सही दिशा लिन नसकेको अध्यक्ष साहको बुझाई छ ।

रास्वपा नेतृत्वको वर्तमान सरकारले सुरुदेखि नै लोकतन्त्रमाथि प्रहार गरेको र नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारहरुलाई पनि प्रारम्भदेखि नै संकचुन गर्ने प्रयास गरेको आजपाको आरोप छ । वर्तमान सरकारले नागरिक सर्वोच्चता, पूर्ण प्रेस स्वतन्त्रता, संसदीय सर्वोच्चताको मूल मर्ममाथि नै प्रहार गरिरहेको अयक्ष साहको आरोप छ । उनले वर्तमान सरकारले कानूनी शासनको उपहास गर्नुको साथै मनोमानी शासनको अभ्यास सुरु गरेको दाबी गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष साहले वर्तमान सरकारबाट भएका गलत कामका फेहरिस्त सार्वजनिक गर्दै सरकार “स्वतन्त्रता, समानता, विधिको शासनलगायतका लोकतान्त्रिक अधिकारहरू”लाई समाप्त पार्दै सर्वसत्तावादको दिशामा अग्रसर रहेको गम्भीर आरोप लगाएका छन् ।

साहले नेपालमा महाशक्ति राष्ट्रहरूको सक्रिय उपस्थिति र चलखेल बढ्दो रहेको उल्लेख गर्दै भू–राजनीतिक द्वन्द्वको चपेटामा देश पर्ने त होइन भन्ने गम्भीर खतरा उत्पन्न भएको आशंका व्यक्त गरेका छन् । पछिल्लो समय भारत र चीनसँगको नेपालको सम्बन्ध खलबलिएको साहको टिप्पणी छ । उनले भनेका छन्,“छिमेकी देशहरूले सुरक्षा चासोलाई लिएर सक्रियता बढाईरहेका छन् । छिमेकीलाई जीवन्त संवादमार्फत आश्वस्त पार्नुको सट्टा वर्तमान सरकार “शून्य संवाद” को नीतिमा अग्रसर छ ।”

प्रधानमन्त्री वालेन्द्र शाहले सिमा विवादबारे खासगरी नेपालले पनि भारतको धेरै ठाउँमा भूमि मिचेको छ भनेर सार्वभौम संसद्मा दिएको अभिव्यक्तिको कारण कुटनीतिक संकट गहिरिएको आजपाको बुझाई छ । वर्तमान सरकार राष्ट्रकै अस्तित्व समाप्त गर्नतर्फ अग्रसर रहेको आजपाको आरोप छ । यस्तै, देशको अर्थतन्त्र पनि संकटमा फस्दै गएको आजपाको निश्कर्ष छ । अर्थतन्त्रका सबैखाले सूचाकांक नकारात्मक रहेको उल्लेख गर्दै आजपाले अर्थतन्त्र संकटमा फसेकोप्रति चिन्ता व्यक्त गर्दै सुधारको लागि गम्भीर र हस्तक्षेपकारी कदम चाल्न सुझाएको छ ।

सरकारको अनावश्यक हस्तक्षेपले राज्य निष्प्रभावी हुँदै गएको र अहिले दुई तिहाईको सरकार बन्दापनि जनतामा एकखालको ढुक्कताको स्थिति नदेखिएको आजपाको ठहर छ । अहिले संवैधानिक अंगहरुबीच शक्ति सन्तुलन खलबलिएको पनि अध्यक्ष साहले प्रतिवेदनमा उल्लेख गरेका छन् । साहले चुनावमा नेपाली सेनाले खेलेको भूमिकामाथि पनि गम्भीर प्रश्न उठाएका छन् । उनले नेपाली सेनाले चुनावमा अमुक पार्टीलाई जिताउन हराउनको लागि भूमिका खेलेको कुरा उल्लेख गरेका छन् ।

उनकाअनुसार अहिले न्यायालय न्याय निरुपण गर्न डराएको, सरकारको हस्तक्षेपको कारण सर्वोच्च अदालत द्धन्द्धको केन्द्र बनेको छ । यस्तै, सुरक्षा निकायले देशमा शान्ति सुरक्षाको उचित प्रवन्ध गर्न नसकेको र जनतामा एक किसिमको असुरक्षाको भय पैदा भएको पनि साहले प्रतिवेदनमा जोडदार रुपमा विषय उठाएका छन् । वर्तमान सरकारले सुशासन कायम गर्न नसकेको र उल्टै सुशासनको धज्जी उडाउने काम गरेको साहको आरोप छ । यस्तै, भ्रष्टाचारीलाई कारबाही गर्छु भनेर भनिएको भएपनि व्यवहारमा त्यस्तो नदेखिएको आजपाको टिप्पणी छ ।

भुटानी शरणार्थी प्रकरण, बाँसबारी जग्गा काण्ड, वाइडबडी काण्ठ, टेरामक्स प्रकरण, गिरिबन्धु टी स्टेट काण्ड, सहकारी ठगी काण्ड, ललिता निवास जग्गा काण्ड, यति, ओम्नीदेखि सुन तस्करीलगायतका देशका चर्चित भ्रष्टाचारका काण्डहरुमा वर्तमान सरकार मौन बसेको आजपाको दाबी छ । कतिपय छानबिनको प्रक्रिया अगाडि बढाएको भएपनि ती सबैमा सरकार पूवाग्रही देखिएको पनि आजपाको आरोप छ ।

अध्यक्ष साहले आजपासम्मिलित ९ दलीय मोर्चा बनाईउनुको कारणसमेत प्रतिवेदनमा चर्चा गरेका छन् । उनकाअनुसार देशलाई सही निकास दिन र संकटबाट बचाउनको लागि अग्रगामी मोर्चा बनेको हो । मोर्चाले वैदेशिक हस्तक्षेपविरुद्ध लड्ने र स्वाधिनताको रक्षा गर्ने पनि उनले स्पष्ट पारेका छन् । यस्तै, सर्वसत्तावादविरुद्ध लड्ने र लोकतन्त्रको रक्षा गर्ने कुरा मोर्चाको मुख्य उद्देश्य रहेको छ । मोर्चा प्रतिक्रियवादीहरुको षड्यन्त्र, घेराबन्दी एवं हस्तक्षेप रोक्न सक्षम रहेको साहको विश्वास छ । आफूहरुले कुनै सत्ता प्राप्तिको लागि नभएर केवल संघर्षको लागि मोर्चा बनाएको कुरा पनि साहले स्पष्ट पारेका छन् ।

प्रतिवेदनमा संघर्षका कार्यक्रमदेखि जेनजी आन्दोलनसम्मका चर्चा गरिएको छ । आजपाले दलतन्त्रको विरुद्ध सुरुदेखि नै संघर्ष गर्दै सिस्टम सुधारसहित व्यवस्था परिवर्तनकोलागि आफूहरुले तेस्रो जनआन्दोलनको उद्घोष गरेको कुरा जेनजी आन्दोलनसम्म आईपुग्दा सही सावित भएको उल्लेख गरेको छ । तर, जेनजी आन्दोलनपछि मुलुकमा सिस्टम सुधारसहित अन्तरिम सरकार बन्नुपर्नेमा त्यसमा नेपाली सेना र विदेशी शक्तिहरुको साँठगाँठ र षड्यन्त्रबाट पूरानै व्यवस्था बचाउने खेल भएको साहको आरोप छ । अब देशलाई वर्तमान संकट र दलदलबाट बचाउनको लागि फेक शासनको भण्डाफोरसहित सिस्टम सुधारको आवश्यकता औंल्याएको आजपाले अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको भनेको छ ।

१९ असोज २०८३, सोमवार २०:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु