निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापन कार्यमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा आयोगमा कार्यरत कम्प्युटर अपरेटरहरूका लागि काठमाडौँमा आयोजित दुई दिने एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणाली एवं साइबर सुरक्षासम्बन्धी तालिमको उद्घाटन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सूचना प्रविधिमार्फत गत भदौ २३ र २४ गते भएको विद्रोहपछि फागुन २१ गते निर्वाचन मिति तोकिएकाले यस निर्वाचनमा प्रविधिको प्रयोगप्रति आयोग सजग र संवेदनशील रहेको बताए ।

निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावली सङ्कलन गर्ने कार्य बन्द गर्नुपर्ने कानुनी व्यवस्था अध्यादेशमार्फत संशोधन गरिएपछि आयोगले यसपटक राष्ट्रिय परिचयपत्र प्रणालीसँग आयोगको मतदाता नामावली सङ्कलन गर्ने प्रणाली एकीकृत गरी सहज ढङ्गबाट मतदाता नामावली सङ्कलन गर्न सफल भएको उनले बताए ।

सूचना प्रविधिमार्फत फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति न्यूनीकरणका लागि आयोगको सूचना प्रविधिमा कार्यरत सम्पूर्ण कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए ।

निर्वाचन आचारसंहिता पूर्ण पालना, प्रचारप्रसार एवं मतदाता शिक्षा जनस्तरसम्म पुर्‍याउन सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण हुने बताउँदै उनले आयोगमा कार्यरत दक्ष जनशक्तिले यसको सकारात्मक प्रयोगलाई प्रवद्र्धन गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।

आयोगले सूचना प्रविधिको प्रयोग गर्दै मतदाता नामावली दर्ता, मतदाता नामावली व्यवस्थापन, इभेन्ट ट्रयाकिङ सिस्टम, उम्मेदवारको खर्च व्यवस्थापन प्रणाली, अब्जर्भर व्यवस्थापन, उम्मेदवारको मनोनयपत्र दर्तादेखि निर्वाचनको परिणाम घोषणासम्म कार्य गर्दै आइरहेको छ ।

यसैगरी बाह्य जिल्ला मतदाता नामावली दर्ता, प्रिइन्रोलमेन्ट एवं राष्ट्रिय परिचयपत्र प्रणालीसँग आबद्धता गरेर आयोगले मतदाता नामावली सङ्कलन गर्ने कार्यलाई सहज र पहुँचयोग्य बनाएको छ ।

उद्घाटन कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन व्यवस्थापन कार्यमा सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिएर विगतदेखि नै कार्य हुँदै आएको उल्लेख गर्दै प्रविधिको तीव्र विकास र गतिसँगै यसलाई अवलम्बन गर्ने कार्यमा आयोग प्रयत्नशील रहेको बताए ।

स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सूचना प्रविधिको सकारात्मक प्रयोग बढाउँदै यसबाट हुने नकारात्मक असर घटाउनुपर्ने उल्लेख गर्दै सचिव राउतले ‘साइबर हाइजिन’का लागि यस प्रकारका तालिम फलदायी हुने बताए ।

आयोगले प्रयोग गरिरहेका सूचना प्रविधिसँग सम्बन्धित प्रणालीप्रति समान बुझाइ कायम गर्न तालिमले मद्दत गर्ने सचिव राउतको भनाइ थियो ।

निर्वाचनका क्रममा तथ्याङ्कको शुद्धता, साइबर जोखिम न्यूनीकरण, सुरक्षित डिजिटल व्यवहार एवं सूचना प्रविधिसँग जोडिएर आउन सक्ने चुनौतीलाई तत्काल समाधान गर्न प्रविधिसँग जोडिएर कार्यसम्पादन गरिरहेका आयोगका जनशक्तिको भूमिका महत्त्वपूर्ण हुने सचिव राउतले बताए ।

१७ फागुन २०८२, आइतवार २३:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु