सगरमाथा आरोही १७ जनालाई कोरोना संक्रमण पुष्टि
सगरमाथा आरोहीहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आरोहण टोलीका १७ जना सदस्यलाई कोरोना पुष्टि भएको हो ।
पर्वतारोही र स्थानीय अधिकारीहरुले बताए अनुसार सगरमाथा आधार शिविरमा संक्रमणले भयावह रुप लिनसक्ने अवस्था देखिएको छ ।
आधार शिविरमा रहेका अन्य व्यक्तिहरुमा पनि कोरोना संक्रमणको लक्षण देखिएको बताइएको छ । नेपाल सरकारले भने यसबारे आफूहरुलाई जानकारी नभएको जनाएको छ ।
आधार शिविरका अधिकारीहरुले जनाए अनुसार आरोहण टोलीका सदस्यहरुलाई काठमाडौँस्थित अस्पताल पठाएर परीक्षण गराउँदा १७ जनामा संक्रमण पुष्टि भएको हो ।
गत वर्ष कोरोना संक्रमण फैलिएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा पनि रोक लगाइएको थियो । यस वर्ष आरोहण खुलाइएपछि पछिल्लो समय आधार शिविरमा पनि भीडभाड बढेको छ ।
हामीले १७ जना सगरमाथा आरोहीलाई संक्रमण पुष्टि भएको जानकारी काठमाडौँबाट प्राप्त गरेका छौँ, हिमालयन उद्वार संघका एक अधिकारी ल्हाक्पा नुरु शेर्पाले बताए ।
२२ वैशाख २०७८, बुधवार १५:५५ बजे प्रकाशित





